पालिका अध्यक्ष खुलाल भन्नुहुन्छ “खुट्टा तान्नेहरु धेरै छन्, तैपनि हामी सफल भएका छौं ।”

  • नमोबुद्ध संवाददाता,

खानीखोला–काभ्रेको क्षेत्र नं. १ मा संघ सरकार तथा यहाँबाट निर्वाचित सांसदप्रति स्थानीय सरकारका प्रतिनिधिहरुकै गुनासो रहने गरेको छ । संघीय सरकारको तर्फबाट आवश्यक मात्रामा विकास बजेट भित्राउन नसकेको आरोप सांसद गंगाबहादुर दोङ बमध्वज माथि नलागेको हैन ।

ठूला योजना कार्यन्वयन गर्न ठूलो बजेट आवश्यक रहेको भन्दै स्थानीय जनप्रतिनिधि,पार्टी प्रतिनिधिले यसतर्फ सांसद बमध्वजको ध्यानाकर्षण गराउदै आएको सन्दर्भमा सांसद बमध्वजले नेकपा सरकारले गाउँगाउँमा विकास ल्याएको दावी गर्नुभएको छ । संघीय संसदले पारित गरेर आज गाउँको एउटै वडामा ३ करोड भन्दा बढी विकास बजेट आउने गरेको उल्लेख गर्दै उहाँले यसको सकारात्मक परिणाम सबैमाझ छर्लङ्ग रहेको तर्क गर्नुभयो ।

हालै काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजनामा स्थानीय देउरालीमा भएको सार्वजनिक सुनुवाई, समिक्षा तथा विकास निर्माणमा आगामी योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सांसद बमध्वजले नेकपा सरकार बनेपछि स्थानीय स्तरसम्म सकारात्मक प्रभाव देखिने खालका कामहरु भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो–“पहिलो आवश्यकता र समस्यालाई सम्बोधन गर्ने भनेका थियौं । सोही अनुसार काम अगाडि बढीरहेको छ । खोपासी तालढुंगा सडक निर्माणले साकार रुप ग्रहण गरेको छ ।”

डाँडापारीलाई विद्युतको केन्द्रीय लाइनसँग जोडेर स्थानीयलाई सुखी र खुसी बनाउने अबको योजना अघि बढिसकेको उहाँको भनाई छ । च्याल्टी, दयागाउँ, तालढुंगा सडक खण्ड पनि सम्पन्न भएको उल्लेख गर्दै सांसद बमध्वजले आगामी दिनहरुमा पनि जनताको माग र आवश्यकता बमोजिम आफू सधैं लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

केही विरोधीहरुले कम्युनिष्ट सरकार र सांसदले केही पनि गरेन भन्ने भ्रम फैलाईरहेको भन्दै उहाँले यस्तो भ्रमको पछि नलाग्न जनतालाई अनुरोध गर्नुभयो । “केही मान्छेहरु भ्रमको खेती गर्न तल्लिन देखिन्छ । वर्तमान सरकार र सांसदले केही पनि गरेन भनेर भ्रम फैलाएको पाइएको छ । तपाईंहरु भ्रममा नपर्नुहोला ।” उहाँले थप्नुभयो–“केही पनि नभएको भए खोपासी तालढुंगमा गाडी कसरी पुग्यो ? यसरी हरेक बस्तीमा सडक सञ्जाल कसरी पुग्यो ? खानेपानीको ठूलो–ठूला योजना कसरी कार्यन्वयन हुँदै छ बुझ्न जरुरी छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले खुट्टा तान्नेहरु धेरै भएपनि आफूहरु सफल हुँदै गएको दावी गर्नुभयो । “खुट्टा तान्नेहरु धेरै छन्, तैपनि हामी सफल भएका छौं । विकास निर्माणका विषयमा हामीलाई सल्लाह सुझाव दिनु होला ।” उहाँले भन्नुभयो–“अब यो वर्ष योजना कार्यन्वयनमा ढिलाई भएको छ, उपभोक्ता समिति चाँडै गठन गरेर चालु आर्थिक वर्षका योजनाहरु कार्यन्वयन गर्नेतर्फ लागौं ।”

उहाँले दुरसञ्चारलाई जनताको पहुँचमा पु¥याउन फोर्जी सेवा ल्याउन लागेको बताउँदै त्यसको लागि डाँडागाउँ र असनचुलिमा टावर निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

विकासमा जवाफदेहिता : कफि उत्पादनमा जोड

कार्यक्रममा वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले वडाले पारदर्शी र जवाफदेहितका योजनाहरु सम्पन्न गर्ने गरेको बताउनुभयो । उहाँले गाउँको समृद्धिमा विनियोजित चालु बजेट तथा योजनाहरुको बारेमा प्रकाश पार्नुभयो ।

वडामा व्यवसायीक कफि खेतीलाई प्रबद्र्धन गर्न लागेको जनाउँदै उहाँले यो वर्ष मात्रै वडाका किसानहरुले ३ करोड रुपैयाँ बराबरको कफि उत्पादन गरेकोले अब यसको प्रवद्र्धनको लागि १ लाख विरुवा उत्पादन गरेर किसानहरुलाई वितरण गर्न लागेको जानकारी दिनुभयो ।
साथै वडामा बृहत खानेपानी योजना पनि कार्यन्वयन हुन लागेको वडाध्यक्ष गोलेको भनाई छ ।

“४ सय ५० घरधुरीको लागि खानेपानीको व्यवस्था गर्दै छौं । करिब ९ करोड रुपैयाँको यो योजना शुरु हुने क्रममा छ ।”, उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष रुकमिनी गुरुङले पालिकाले अघि बढाएका विकास निर्माणका कामबारे धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !