• नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ स्थित चुखाका ७० परिवारले बुधबार राहत पाएका छन् । नोवल कोरोना भाइरस कोभिड १९ ले जनजीविकामाथि पारेको असरलाई मध्यनजर गर्दै यहाँका विपन्न परिवारलाई युवा समाजसेवी शंकरमान तामाङले खाद्यान्न वितरण गर्नुभएको हो ।

यो विपत्तिमा जनजीवन सहज बनाउन तथा दशैं मनाउन केहि राहत पुगोस् भन्ने हेतुले खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको समाजसेवी तामाङले बताउनुभयो । कोरोना महामारीको सामना गरिरहेका बेला आगमन भएको दशैंको मुखैमा प्राप्त गरेको यो राहतले स्थानीयहरु खुसी भएका छन् ।

स्थानीय सर्बोद्धार माविका विद्यार्थी लगायत यस बिद्यालयको सेवा क्षेत्रको लगभग ७० घर परिवारको लागी समाजसेवी शंकरमान तामाङको सहयोगमा घर घरमै खाद्यान्न वितरण गरिएको आयोजक स्थानीय विद्यालयका प्रधानाध्यापक ग्यान्जा लामाले स्पष्ट पार्नुभयो ।

यहाँका विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि नियमित रुपमा स्टेशनरी,किताव,झोला लगायतका शैक्षिक सामाग्री समेत सहयोग गर्दै आएका समाजसेवी तामाङको यस्ता मनकारी कामहरुप्रति विद्यालय परिवारले धन्यबाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !