-
नमोबुद्ध संवाददाता,
बेथानचोक–काभ्रेको बेथानचोक गाउँपालिका ५ स्थित च्यासिंखर्कको टोलटोलमा पुगेर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि स्थानीय लाभग्राहीहरु हर्षित भएका छन् ।
दशैंको मुखमा वडा कार्यलयले घुम्ती प्रणालीबाट हालै टोलटोलमा पुगेर भत्ता वितरण गरेपछि वृद्धवृद्धा र एकल महिलाहरु खुसी भएका हुन् । बृद्वभत्ता पाएपछि दशैं मनाउन सहज हुने भन्दै उनीहरु हर्षित छन् । उनीहरुले १ महिनाको ३ हजारको दरले चौमासिक भत्ता पाए ।
वडाबाट प्रवाह गरिने सेवा सुविधालाई छिटो छरितो र जनमैत्री बनाउने उदेश्यले दशैंलाई लक्षित गरी भत्ता वितरण गरिएको वडा सदस्य शुकलाल भ्लोल(सुकु)ले जानकारी दिनु भयो । उहाँका अनुसार वाईबाडाँडा,च्याल्टी र मदनबासमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
वडाले अब आफ्नो नयाँ भवनबाट सेवा प्रवाह गर्दै
वडा अध्यक्ष खजेन्ची बहादुर लामाले सामाजिक सुरक्षा भत्ता मात्रै नभई अब हरेक सेवा सुबिधा वाईबाडाँडास्थित नयाँ भवनबाट दिने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । दशैंतिहार लगत्तै यो भवनबाट सेवा प्रबाह गर्ने भएको हो ।
वडाध्यक्ष लामाले भन्नुभयो–“अनुगमन पनि भईसकेको छ,सबैलाई पायक पर्ने र लायकको ठाउँ पनि यहि नै हो,साविक च्यासिंखर्क गाविस वडा नम्बर १ देखि ९ वडासम्मकै जनतालाई छिटोछरितो हुने ठाउँ यहि हो ।”
वडाध्यक्ष लामाले वडा कार्यालयले बजेट बिनियोजन गरी टोलटोलमा पुग्ने मोटर बाटो पुर्याएकोले कार्यालयसम्म आउन सबैलाई सहज हुने दावी गर्नुभयो । उहाँका अनुसार वाईबाडाँंडामा रहेको पुरानो संरचना द्वन्दकालमा तत्कालिन बिद्रोही माओवादीले जलाएपछि वडा कार्यालयको आफ्नो भवन थिएन ।
च्याल्टीमा २०७२ को भुकम्पपछि भूकम्पपीडितको लागि निर्माण गरिएको आवासबाट अस्थायी रुपका कार्यालय सञ्चालन गरिदै आईरहेको छ । अब वाईबाटोलमा हालै निर्माण सकिएको वडा कार्यालयको नयाँ भवनबाट सेवा प्रवाह हुने वडाध्यक्ष लामाले स्पष्ट पार्नुभयो । यो वडा कार्यालय सबैलाई पायक पर्ने स्थानमा रहेकोले स्थानीय खुसी हुने उहाँको भनाई छ ।