• नमोबुद्ध संवाददाता,

काठमाडौं– जनता समाजवादी पार्टीले जम्बो केन्द्रीय समिति गठन गरेको छ । मंगलबारको बसेको केन्द्रीय कार्यकारिणीको बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको हो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्ष मान्न सबै सहमत भएका छन् । भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय लिएको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो भने भट्टराईको नाम पार्टी एकताका लागि निर्वाचन आयोगमा पठाएको निवेदनमा अशोक राईभन्दा पछाडि थियो ।

बैठकले समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको छ । साथै पार्टीको विधान परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत पारित गरिएको बताइएको छ ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उहाँको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत राजपाले गरेको छ । बैठकले कोभिड( १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस !