जनप्रतिनिधीकै गुनासो

  • नमोबुद्ध संवाददाता,

बेथानचोक–काभ्रेको बेथानचोक गाउँपालिका ५ स्थित कामीडाँडामा खानेपानी सम्बन्धी ३ दिने अभिमूखीकरण हालै सम्पन्न भयो । शान्ति जनआदर्श सेवा केन्द्रको प्राबिधिक सहयोग्, ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिको आर्थिक सहयोग र कपेर महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा तालिम चलाईएको हो ।

वडाध्यक्ष खजेन्ची बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा उहाँले नमुना कामीडाँडा बनाउने प्रतिवद्धता जनाउनुभयो । आफ्नो क्षेत्रमा सबै नागरिकलाई खानेपानीको समस्याबाट मुक्त पार्ने बताउँदे उहाँले नागरिकका मुख्य मुख्य आवश्यकता पुर्ति गर्दै नमुना गाउँ बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको हो ।

विकासका सवालमा सबै पार्टी एक ठाउँमा उभिनुपर्ने दोहोर्याउँदे उहाँले भन्नुभयो– “बिकास निर्माणको काममा दल र पार्टीगत रुपमा नहेरीदिन म आग्रह गर्दछु । अब गाउँमा सरकार आएको अनुभूति दिलाउँछु । यो वडा कार्यलयले गर्नेछ ।” उहाँले तालिममा सहभागिहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

तालिम समापन समारोहमा शान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले गाउँ गाउँमा पुगेर जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो–“हामी सबैको सारथी हौं । राम्रो र स्वच्छ खानेपानी पिउन पाउँदैन भने जीवननै मुस्किल छ,यो कुराबाट प्रभावित भएर म सामाजिक सेवामा जोडिएको हुँ ।”

विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइमा सबैले ध्यान दिन आवश्यक रहेको औल्याउँदै उहाँले बिशेष गरी अहिलेको यो कोरोना भाइरसको जटिल परिस्थीतिमा सबैको जीवन जोखिममा रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष लामाले गरिबी र कठिन भु–बनोटका कारण पनि अनेक चुनौतीहरू पार गर्दै खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा लागिरहेको जनाकारी दिदै कपेर महांकाल खानेपानी आयोजनाले प्रगति हासिल गरी रहेकोमा निरन्तर साथ सहयोग गर्न उर्जा मिलेको धारणा व्यक्त गर्नुभयो ।

जनप्रतिनिधीकै गुनासो

कपेर महाककंकाल खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष तथा वडा सदस्य शुकलाल भ्लोन(सुकु) ले बिकासको लागि जति खटेर काम गर्दा पनि जस नपाएको गुनासो गर्नु भयो ।

“मैले पहिलादेखी नै खानेपानीका लागि काम गरी रहेको छु तर पनि कुरा काट्ने समाजमा जत्ति गरेपनि अझै हेर्ने दृष्टिकोण सकारात्मक देखिदैन ।” सदस्य सुकुले भन्नुभयो– “म अध्यक्ष भएर मात्रै काम गरी रहेको छैन,म वडाबासीले जिताएर पठाएको जनप्रतिनिधी हुँ,हरेक समस्याको समाधान गर्न हामी तयार छौं,विरोध गर्ने,कुरा काट्ने,खुट्टा तान्ने प्रवृत्तितर्फ कोही नलाग्नुहोस्,काम गर्न दिनुहोस् ।”

उहाँका अनुसार स्वस्थ्य चौकी, बिद्यालय र गाउँ गरेर १ सय ४८ वटा खानेपानीको धारा जडान गरिएको थियो । अहिले खानेपानीलाई अझै मजबुत बनाउन ३ दिने अभिमुखिकरण तालिम दिईएको हो ।

शान्ति जनआदर्श सेवा केन्द्रकी प्राबिधिक हिमा लिम्बुले सहजिकरण गरेको तालिममा खानेपानीको महत्व,सरसफाई,संरक्षण लगायतका विषय प्रष्ट पारिएको थियो । तालिममा उपभोक्त समिति र महिला प्राबिधिक सेवा समूह लगायतका करिब ५० बढि स्थानीय सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !