-
नमोबुद्ध संवाददाता,
तेमाल–काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८, मेच्छे गाउँमा शनिबार १०० केभिए क्षमताको विद्युत ट्रान्सफर्मर उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर दोङ (बमध्वज), पूर्व उर्जा राज्यमन्त्री तथा सभासद सूर्यमान दोङ (लालध्वज) र बागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले संयुक्त रुपमा स्वीच दबाएर ट्रान्सफर्मरको उद्घाटन गर्नुभएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको क्रममा मेच्छे गाउँका जनताले सांसदद्वय बमध्वज र ढकाल समक्ष ट्रान्सफर्मरको माग गरेका थिए । साविकको सबै वडामा आवश्यकता अनुसार ट्रान्सफर्मर भएपनि साविकको सो ५ नं. वडामा भने थिएन । सांसदद्वयले निर्वाचनको क्रममा प्रतिबद्धता जाहेर गरेबमोजिम तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लि. मार्फत सो ट्रान्सफर्मर उपलब्ध गराउनुभएको थियो ।
सांसद वमध्वजले आफूहरु तेमालको विकासको लागि प्रतिबद्ध रहेको बताउँदै जनतासँग राखेको प्रतिबद्धता एक–एक गरि पूरा गर्दै आएको दावी गर्नुभयो । तेमालमा आफूले ३ वटा काममा विशेष ध्यान दिएको सांसद वमध्वजले बताउनुभयो । उहाँले भन्नुभयो–“खानेपानी, विजुलीको पोल र भकुण्डे–तेमाल–माम्ती सडक पिच गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छु ।”
पूर्व उर्जा राज्यमन्त्री तथा नेकपा वागमती प्रदेश कमिटि सचिवालय सदस्य सूर्यमान दोङ (लालध्वज)ले आफूले सुनकोशीबाट खानेपानी ल्याउने योजना बनाउँदै गर्दा सबैले आफूलाई पागल भएको आरोप समेत लगाएको स्मरण गर्नुभयो । “मैले प्रचण्ड प्रधानमन्त्री हुँदा सुख्खा क्षेत्र घोषणा गर्न अनुरोध गरें ।” उहाँले भन्नुभयो, “अब तेमालमा सुनकोशीको पानी आउने नै भयो । मलाई पागल भन्नेहरु कहाँ गए खोइ ?”
प्रदेश सांसद रत्न ढकालले तेमालमा सबैभन्दा बढी बजेट वडा नं. ८ मा परेको स्वीकार्दै नेपाली काँग्रेसले जितेको भनेर कुनै पनि दृष्टिकोणका हिसाबले कमी नगर्ने प्रतिबद्धता जनाउनुभयो । “विकासको हिसावले, समुदायलाई अघि बढाउने हिसाबले हामीले तेमाल हाम्रै हो भनठानेर केही पनि चिजको कमी गरेका छैनौं ।’ ढकालले भन्नुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य इन्द्र तामाङले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको निर्देशन अनुसार नै बजेटको व्यवस्था गरेको खुलासा गर्नुभयो । निर्वाचनमा पार्टीले जनतासमक्ष राखेको प्रतिबद्धता अुनसार अघि बढ्न यसो गर्नुपर्ने उहाँको भनाई छ ।
तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष सार्कीमान तामाङले तेमाल समृद्धिको सपना साकार पार्न सबैको साथसहयोग आवश्यक रहेको बताउनुभयो । सहकारीका सचिव इन्द्रमान तामाङले सहकारीले जोखिमलाई ख्याल गरी तेमालमा काठको विद्युत पोल हटाउने काम धमाधम गरिहेको जानकारी गराउनुभएको थियो ।