• नमोबुद्ध संवाददाता,

तेमाल–दशैंमा स्थानीयको बढि आवतजावतलाई ख्याल गर्दै गाउँगाउँका मुख्य सडकहरु सफा गर्ने तेमाल गाउँपालिकाको तयारी अनुसार स्थानीय वडा कार्यालयहरुले काम थालेका छन् । वर्षातका कारण ठाउँठाउँमा पहिरो तथा ढुंगा,माटोको ढिस्को खसेर अस्तव्यस्त बनेका यहाँका सडकहरु सफा गर्ने काम थालिएको हो ।

दशैं अघि बाटो सफा गर्ने काम यो पटक वडा नं. १ बाट सुरुवात भईसकेको छ । पालिकाको परिषदबाट पारित,वडास्तरबाट आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजित २ लाख बजेटबाट बोहोरेदोभान,आधाबाट,लामागाउँ सडकखण्ड सफाई गर्ने काम भईरहेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडाको यो मुख्य रुटमा वर्षात्का समय खसेको ढुंगा माटोसहितको ढिस्कोले सवारी साधन सञ्चालन गर्न जोखिम थियो ।

यस्तै वडा नं. २ को लामागाउँ ,डाँडागाउँ ,फुलडाँडा सडकको पहिरो स्लिप पन्छाउने कार्य भईरहेको छ । आइतबारदेखी ग्रावेलको काम थाल्ने वडा सदस्य डिल्लीमान तामाङले बताउनुभयो ।

तेमालका अन्य वडाहरुमा पनि दशैं अगाडीनै आफ्ना क्षेत्रका मुख्य सडकहरु सफा गरी यातायात सञ्चालन गर्ने सम्बन्धित वडाका वडाध्यक्षहरुले बताएका छन् । यिनै तयारी अनुसार आफू प्राविधिक स्टिमेटमा व्यस्त रहने गरेको तेमाल गाउँपालिकाका पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख रामप्रसाद अधिकारीले जनाउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्षसम्ममा सडक निर्माणलाई जोड दिएका कारण प्राय सडकहरुमा वर्षातका समय पनि साना सावारी साधन सञ्चालनमा रहे । वर्षातमा तेमालको वडा नं. १ क्षेत्र, भकुण्डे मेच्छे सडकखण्ड र पाँचखाल ठूलोपर्सेल सडक खण्ड बाहेक अन्य स्थानीय रुटहरुमा बस सेवा भने चल्न सकेको थिएन । बाटो सफाई सकिएसँगै अब स्थानीय मुख्य सबै रुटहरुमा बस चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस !