-
नमोबुद्ध संवाददाता,
बेथानचोक–बागमती प्रदेशसभा सदस्य (सांसद) चन्द्र लामा जनगुनासो सुन्न र आवश्यक सम्बोधनका लागि आफ्नो निर्वाचन क्षेत्र काभ्रेको बेथानचोकस्थित स्थानीयको घरदैलोमा आइपुग्नु भएको छ । कोरोना भाइरसको त्रासदीपूर्ण जीवन बाँच्नु परेको यो समयमा जनताको मनोविज्ञान बलियो बनाउन,विकास निर्माण लगायतका क्षेत्रमा रहेका समस्या पहिचान र समाधानको पहल गर्न सांसद लामा घरदैलोमा निस्कनुभएको हो ।
घरदैलो अभियानका क्रममा नेकपा युवा नेता समेत रहेका सांसद लामाले जनताको हरेक आपतविपतमा संगसंगै रहने प्रतिबद्धता जनाउनुभयो ।
यसैक्रममा उहाँले शनिबार बेथानचोक गाउँपालिका वडा नम्बर ६ महाँकालचौर, भुग्देउका स्थानीय नेता, कार्यकर्ता र जनताहरुसंग त्यहाँको विकास निर्माणको अवस्था र भावि आवश्यकताको बारेमा जानकारी लिनुभयो । सांसद लामाले स्थानीय जनताले अनुभुती गर्नेगरी आफुले विभिन्न योजना ल्याएको र हाल केहि योजनाहरु अगाडि बढिरहेको बतानुभयो ।
सांसद लामासँगको भेटमा भुग्देउका स्थानीयले सडक स्तरउन्नती, स्वास्थ्य सेवामा जनताको सहज पहुँच, खेलमैदान निर्माण लगायतका आवश्यकता अवगत गराए । निकट छिट्टै यी आवश्यकताको सम्बोधन हुनेगरी योजना ल्याएर कार्यान्वयन गर्ने सांसद लामाले प्रतिवद्धता जनाउनुभयो । उहाँले आवश्यकताको आधारमा योजना तर्जुमा गर्न घरदैलोमा पुग्नुले निकै अर्थ राख्ने बताउनुभयो ।
सांसद लामासंगै जनतासंग भेटघाट टोलीमा संविधान सभा सदस्य रामहरि सुवेदी,नेकपा जिल्ला कमिटी सदस्यहरु वेद प्रसाद तिमल्सिना, पेमा लामा लगायत हुनुहुन्थ्यो ।