
प्रतिवद्धता अनुसार काम गरिरहेको दावी
- नमोबुद्ध संवाददाता,
भकुण्डेबेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो १६ महिने कामको समिक्षा शुक्रबार गरेको छ । वडा क्षेत्रसम्मका जनप्रतिनिधि,संघसंस्था,स्थानीय प्रतिनिधि ,पत्रकार लगायतमाझ उसले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक तथा आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक कार्यक्रम तथा योजनाको समिक्षा गरेको हो ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनको बेला जनतासँग जाहेर गरेको प्रतिवद्धता अनुसार काम गरिरहेको दावी गर्नुभयो । नयाँ कामका लागि केहि चुनौतीबारे आफू पहिल्यै जानकार रहेको बताउँदै उहाँले त्यही अनुसार पाँच बेथितिको अन्त्य र पाँच समृद्धिको लागि नगरका कार्यक्रमहरु बन्ने गरेको जानकारी दिनुभयो । त्यही मुताविक यो १६ महिनामा केहि उल्लेखनिय काम भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–“हामी जनतासामु गरेको प्रतिबद्धता अनुसार अघि बढिरहेकै छौं,मैले जनतासामु ५ बेथितिको अन्त्य गर्ने वित्तिकै समृद्धिको ढोका खुल्ने भएकोले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ,त्यसको थालनी भएको जगजाहेरै छ ।”
यो वर्ष सबै वडामा स्वास्थ्य संस्थाका भवन निर्माण भइसक्ने जानकारी दिदै उहाँले आवश्यकता अनुसार स्वास्थ्य इकाईहरु सञ्चालन र जनशक्ती व्यवस्थापनका काम पनि सुरु भइसकेको उल्लेख गर्नुभयो । काभ्रेमै पहिलो अत्याधुनिक भवन निर्माण गर्न सकेको उल्लेख गर्दै प्रमुख तिमल्सिनाले यो वर्ष ९ वटा वडा कार्यालय सम्पन्न हुने जानकारी दिनुभयो । नगरको पर्यटन विकासका लागि प्राय डाँडाहरुमा बुद्धपाक निर्माणको अवधारणा,नमोबुद्धको व्यवस्थापन,पर्यटन पदमार्ग निर्माण जस्ता कामहरुको सुरुवात भईसकेको उहाँले जनाउनुभयो ।
समक्षिा कार्यक्रममा नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफूहरु सफल भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो–“महिलाहरुलाई आत्मनिर्भर बनाउने, महिला हिंसाको विरुद्ध जागरुक बनाउने, महिलाहरुको नेतृत्व विकास र आत्मसुरक्षाका कार्यक्रमले उपलब्धी हाँसील गर्दै गएको छ । हामीले नगरपालिकालाई महिला मैत्री बनाउन सफल भएका छौं ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक र आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक प्रगति विवरण पेश गर्नुभयो । नोवल कोरोना भाइरस कोभिड १९ को चुनौतीबीच चालु आर्थिक वर्ष चालु तर्फ १७ प्रतिशत र पूँजीगत तर्फ २ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष धर्मसिं लामाले कोरोना कहरमा पनि नगर आफ्ना कार्यक्रमहरु सफल बनाउन तत्पर रहेको बताउनुभयो । जनप्रतिनिधि र सेवाग्राही सबै पक्षलाई जानकारी गराई थप जिम्मेवारी वोध गराउन यस्ता समिक्षा कार्यक्रमको अर्थ रहने उहाँको तर्क छ ।
सिमीत स्रोत र साधनकाबीच नमोबुद्ध नगरले काम चलाउ भन्दा पनि धेरै वटा विकासका गुरुयोजनाहरु निर्माण गरिसकेको उहाँले बताउनुभयो । उहाँले ति योजनाहरु समृद्ध नमोबुद्धको अभिन्न पाटो बन्ने भएकोले कार्यन्वयनका लागि बजेटको व्यवस्थापनमा संघ सरकार,प्रदेश सरकार लगायतका निकायसँग आवश्यक छलफल,संवाद भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि स्थानीयले नगरपालिकाले विभिन्न निकायसंग उपलब्धीमूलक संवाद,समन्वय गरी नगरमा बजेट तथा लगानी भित्र्याउनुपर्नेमा जोड दिए ।