- नमोबुद्ध संवाददाता,
धुलिखेल–तामाङ सांगीतिक क्षेत्र अहिले आधुनिक गीत संगीतले धानिरहेको छ भन्दा फरक नपर्ला । नयाँ प्रविधि भित्रिएसँगै नयाँ पुस्ताको हावी त भएकै छ,यसको धार पनि आधुनिकनै रह्यो । गायक एबं संगितकार निमा दोङको संगीत फ्लेवर नै रुचाएका छन् तामाङ आधुनिक गीत संगीतका स्रोता दर्शकले ।
यसै सन्दर्भमा हालै सार्वजनिक भएको ‘ए बिना’ प्रेमील तामाङ आधुनिक गीत र यसको भिडियोको चर्चा छ । तामाङ सिने क्षेत्रमा सदाबहार नायिकाको उपमा पाएका नायिका रोश्नी ब्लोनको मोडलिङ कलाले भरिएको यो गीतमा निमा दोङ र पूजा तामाङको युगल आवाज छ । संगीत र शब्द रचना स्वयम् निमाकै हो ।
अमिर दोङ निर्देशित भिडियोमा नायिका ब्लोनलाई तुल्साङ मोक्तानको साथ छ । दशक अघिदेखी सिने जगतमा क्रियाशिल नायिका ब्लोनको अभिनय कला र नायक अमिर दोङको निर्देशन कलाले पनि यो गीत थप चर्चाको केन्द्रमा रहेको विश्लेषण गरिन्छ । गीतको शब्द,मिठासपूर्ण संगीत र गायक गायिकाको गायिकी पनि यसको सकारात्मक पाटो बनेकै छ ।
आफ्नो पछिल्लो यो काम अझै थुप्रै दर्शकले मन पराउने विश्वास छ नायिका एवम् मोडल ब्लोनको । दर्शको प्रतिक्रियाले नै कला क्षेत्रको यात्रा उर्जाशील बनाउने गरेको उहाँको भनाई छ ।
भिडियोको छायांकन भिमबहादुर तामाङ, कलर सुर्य लामा र सम्पादन निर्देशक दोङले गर्नुभएको हो । कोरियोग्राफी भने युद्ध लामाको छ । भिडियो डम्फु मेडिया हाउसको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो सहित :