• अशोक बुद्ध लामा,

रोशी–काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.९ पानान्चेका महिलाहरुको लागि संचालित अचार बनाउने सात दिने तालिमपछि स्थानीय महिलाहरुले अचार उत्पादनप्रति सकारात्मक चासो जनाएका छन् । रोशी गाउँपालिका,युएनडिपीको सहयोगमा र शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेको साझेदारीमा सम्पन्न तालिमले स्थानीय महिलाहरु उत्साहित भएका छन् ।

सामुदायिक पुर्वाधार तथा जिविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तरगत स्थानीय महिलाहरुको जिविकोपार्जन तथा आय आर्जन वृद्धि गराइ जीवनस्तरमा समेत सुधार गर्ने उदेश्यले संचालित तालिमले उनिहरुमा आत्मविश्वास बढाएको हो ।

उनिहरुले तालिममा सिकेको सिप व्यवहारमा उतार्ने बताएका छन् । अचार उत्पादन र विक्रीबाट हुने आम्दानीले आफूहरुलाई आवश्यक पर्ने घरखर्च टर्नेदेखी वचतसम्म गर्न सकिने कुरा थाहा पाएकोले यसप्रति चासो बढेको उनिहरुको भनाई छ । तालिमका क्रममा महिलाहरुले स्थानीय स्तरमा उपलब्ध हुने काँक्रो,गोलभेंडा लगायतका अचार बनाएका थिए ।

तालीम कार्यक्रमको समापन गर्दै सोमबार रोशी गाउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती बर्तौलाले तालिमले पनान्चेका महिलाहरुको जिवनस्तरमा सुधार आउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले ग्रामीण महिलाहरु आत्मानिर्भर हुने हुदा आगामी दिनमा गाउपालिकाले सहयोगी संस्थाहरुको समन्वयमा यस्ता कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

साझेदार संस्था शान्ती जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले कोरोना कहरकाबीच पनि स्थानीय महिलाहरु तालिममा सहभागी भई उद्यमशील बन्न उत्साहित बनेकोमा प्रशंसा गर्दै अब स्थानीय क्षेत्रमा उत्पादित अचारको बजारीकरणमा जोड दिनु पर्ने बताउनुभयो ।

समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वरी ओझा,सचिव राजेन्द्र प्रसाद अधिकारी,वडा सदस्य मेघ लामा,स्थानीय शिक्षक दिल बहादुर मगर,परियोजना संयोजक कमल लामा लगायतले तालिमको उपलब्धी होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । तालिमको सहजिकरण सुस्मिता थापामगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !