
-
नमोबुद्ध संवाददाता,
बनेपा–नेपाल चेम्बर अफ कमर्शको ७० औं वर्ष प्रवेश तथा चेम्बर दिवस–२०७७ को अवसरमा काभ्रेपलाञ्चोक चेम्बर अफ कमर्शले लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सहकार्यमा मंगलबार भोका नागरिकलाई खाना खुवाउने कार्यक्रम गरेको छ । ज्याला मजदुरी गर्ने,सडकमा हिड्ने र बस्ने भोका नागरिक यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।
बनेपा नगरपालिकासँगको समन्वयमा ब्वाइज क्लबको सहजिकरणमा एक सयभन्दा बढी भोका नागरिकाई निःशुल्क भोजन ग्रहण गराएको चेम्बरका काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘रोगले भन्दा अघि भोकले नमरुन्’ भन्ने पवित्र उद्देश्यले खाना खुवाउने कार्यक्रमका निम्ति क्लबले १४ हजार रुपैंया बराबरको १० बोरा चामल प्रदान गरेको छ ।
त्यस्तै चेम्बर दिवसकै अवसरमा जिल्ला शाखाले रक्तदान कार्यक्रम गर्ने तयारी गरिरहेको छ । ब्लड डोनर्स एसोसियसन अफ काभ्रेपलाञ्चोकको सहकार्य तथा लायन्स क्लब अफ काठमाण्डौं टेम्पल चण्डेश्वरी र सत्यसाई अस्पताल प्रालि बनेपाको समन्वयमा कात्तिक ३ गते अस्पताल प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।