
-
नमोबुद्ध संवाददाता,
पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ चार पिपलस्थित पलाञ्चोक भगवती माविको पक्की भवन निर्माण थालिएको छ ।
पाँचखाल नगरप्रमुख महेश खरेलले हालै एक कार्यक्रमकाबीच नयाँ बन्न लागेको चारकोठे पक्की अपाङ्गमैत्री भवनको शिलन्यास गर्नुभयो । नगर प्रमुख खरेलले पाँचखालका कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरिने प्रतिवद्धता जनाउनुभयो
नगरपालिकाको समन्वय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा २ तल्लाको ४ कोठे भवन बन्नेछ । इकाईले भवन बनाउन ७० लाख उपलब्ध गराएको छ । विद्यालयमा शौचालय बनाउन १५ लाख तथा खानेपानीको लागि ८ लाख रुपैया सहयोग गरेको विद्यालयका प्रधानाध्यापक बेगबहादुर थापाले जानकारी दिनुभयो ।
यो बर्ष मात्र पलाञ्चोक भगवती माविमा अन्य २ वटा भवनको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष किरण श्रेष्ठले जनाउनुभयो । उहाँका अनुसार पाँचखाल नगरपालिकाको ५० लाख सहयोगमा ४ कोठे पक्की भवन तथा नमस्ते इटालीको ६२ लाख सहयोगमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न हुन लागेको छ ।