• नमोबुद्ध संवाददाता,

तेमाल-काभ्रेको तेमाल गाउँपालिका १ नं. वडा कार्यालयको शनिबार सम्पन्न भेलाले विभिन्न २४ वटा उपभोक्ता समितिहरु गठन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को पालिका परिषदबाट स्वीकृत विकास योजना कार्यान्वयनका लागि उपभोक्ता समितिहरु गठन गरिएको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक तथा पूर्वाधार विकासतर्फका योजनाहरु सञ्चालन गर्न उपभोक्ता समितिहरु गठन गर्नुपरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा भेलाले सडक,खानेपानी,विद्यालय पूर्वाधार, खेलकुद मैदान,मन्दिर, सामुदायिक भवन निर्माण जस्ता भौतिक विकासका योजनाहरू सञ्चालन गर्न बृहत छलफलपश्चात कम्तिमा ९ सदस्य तथा पदाधिकारी सहितको उपभोक्ता समितिहरु गठन गरिएको वडा सचिव पमिता तामाङले बताउनुभयो ।

समितिले आ-आफ्ना योजना सम्झौता गरी प्राविधिक स्टिमेटको आधारमा कार्यन्वयन गर्नुपर्ने हुन्छ । तेमाल गाउँपालिकाको निर्णय वमोजिम पुष मसान्त भित्र योजना सम्झौता गरिसक्नु पर्ने हुन्छ । पालिका सँगको समन्वयमा यसअघि नै पनि सम्झौता गरी फट्टाफट विकास निर्माणका काम थाल्ने तयारी भइरहेको वडाध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार पशु स्वास्थ्य, संस्कृति प्रवर्द्धन,सिप विकास जस्ता कार्यक्रमहरुको भने उपभोक्ता समिति गठन आवश्यक छैन । यस्ता कार्यक्रमहरु वडाको सल्लाह तथा सहजिकरण र सिफारिसमा पालिकासँग समन्वय गरी सिधै कार्यन्वयन गर्न सकिनेछन् ।

नोवल कोरोना भाइरस (कोभिड १९) को कहर रहेकोले आवश्यक सावधानीसाथ भेला आयोजना गरिएको थियो ।

दशैंअघि मुख्य सडक सफा गर्ने तयारी

तेमाल गाउँपालिकाको १ नं. वडा कार्यालयले दशैं अघि मुख्य मुख्य सडकहरु सफा गर्ने भएको छ । यसका लागि शनिबार गठन भएको बोहोरे दोभान आधाबाट लामागाउँ सडक उपभोक्ता समितिले काम गर्ने जिम्मा पाएको छ ।

समितिको रेखदेख र वडा कार्यालयको अनुगमनमा डोजरको प्रयोगमार्फत बाटो सफा गरिनेछ । वर्षाका कारण सडकमा झरेका माटोका ढिस्काहरु पन्छाउने,नाली सोझ्याउने, खाल्डाखुल्डी पुर्ने काम दशैं अघि सकाउने वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

दशैं पर्वमा हुने सवारी आवागमनलाई ख्याल गरेर वडाको मुख्य सडक सफा गर्ने तयारीस्वरूप आइतबार नै प्राविधिकको टोलि खटिन लागेको उहाँले बताउनुभयो । यसका लागि पालिकाका प्राविधिक रामप्रसाद अधिकारीले आइतबारबाट स्टिमेटको काम थाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !