• नमोबुद्ध संवाददाता,

च्यासिंखर्क–काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ च्यासिंखर्कका वडाअध्यक्ष खजेञ्ची बहादुर लामाले शिक्षामा राजनीति गर्न नहुनेमा जोड दिनुभएको छ । शिक्षालाई विकास निर्माणको थलो बनाउनुपर्ने उल्लेख गर्दै उहाँले विद्यालय तथा शिक्षा क्षे राजनीतिक अखडा बन्न नहुने बताउनुभयो ।  शुक्रबार यहाँको कामीडाँडास्थित कपेर निमाबिमा भएको बृहत अभिभावक भेलालाई सम्बोधन गर्दै लामाले यस्तो बताउनु भएको हो ।

“हिजोका दिनहरुमा पनि शिक्षाको विकासका लागि बजेट बिनियोजन गरेका थियौं,आवश्यकताको आधारमा आगामी दिनमा पनि गर्नेछौं,हाम्रा राजनीतिक आस्था आ–आफ्नो ठाउँमा छ तर विकासको मुद्धामा हामी विभाजित नभई एक ठाउँमा उभिन जरुरी छ ।” शिक्षा बिना समाज विकास असम्भव रहेको तर्क गर्दै लामाले भन्नुभयो–“हिजो म नेपाली कांग्रेस पार्टीमा थिएँ,जनताले मत दिएर जिताउनुभयो,त्यसपछि म साझा जनप्रतिनिधी भएँ,यहि अनुसार मेरो कार्यशैली र व्यवहार बदलिएको छ ।”

विद्यालय व्यवस्थापन समिति गठनमा हुने गरेको राजनीतितर्फ इंगीत गर्दै लामाले राजनीतिक दलले शिक्षालाई सुधार्न चाहेको हो भने उनीहरुले दलीय हस्तक्षेप पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले च्यासिंखर्कका सबै बिद्यालयको लागि आफु जस्तोसुकै परिस्थीतिमा पनि लडिरहने प्रण गर्नुभयो ।

वडाध्यक्ष लामाको प्रतिवद्धता छ–“जनताबँट निर्वाचित भएको साँढे ३ वर्ष भो । मैले यो महसुस गरेको छुकि अझै पनि जनताको भावना अनुरुप काम गर्न सकिरहेको छैन । मैले चुनावको बेलामा जे जति बाचा कसम खाएको थिएँ,त्यसमध्ये अझ म शिक्षा क्षेत्रको विकासको बारेमा गम्भिर छु यो मैले पुरा गरेरै छाड्नेछु ।”

विद्यालयमा सम्पन्न अभिभाबकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि ४ सदस्यको नाम प्रस्ताब गरेको छ । रहर लामाको अध्यक्षतामा रहेको समितिको कार्यकाल सकिएपछि भेलाले नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्न भिम लामा,कान्छमान तामाङ,सबित श्रेष्ठ र सजिता तामाङको नाम प्रस्ताव गरेको हो ।

१ सदस्य, २ मनोनित गरी कपेर निमाविको ९ सदस्यीय समिति बन्नेछ । सदस्यहरु मध्येबाट १ जनालाई अध्यक्ष बनाउनुपर्ने र यी सदस्यहरुले यो विषय एक हप्ताभित्रमा टुंग्याउने वडा सदस्य सुकलाल ब्लोनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !