- नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ को कार्यालयले यो शनिबार बस्ने गरी वडा भेला आह्वान गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को पालिका परिषदद्वारा स्वीकृत योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन प्रयोजनार्थ वडा कार्यालय सर्स्यूंखर्कमा भेला बोलाएको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिनुभयो । यसबारे वडा कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।
सामाजिक तथा पूर्वाधार विकासतर्फका योजनाहरु सञ्चालन गर्न उपभोक्ता समितिहरु गठन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । वडा भेलाले सडक,खानेपानी जस्ता भौतिक विकासका योजनाहरू सञ्चालन गर्न छलफल गरी कम्तिमा ९ सदस्यीय उपभोक्ता समितिहरु गठन गर्नुपर्ने हुन्छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वडा नं. १ मा करिब २४ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्नु पर्नेछ ।
नोवल कोरोना भाइरस (कोभिड १९) को कहर रहेकोले आवश्यक सावधानीसाथ भेला आयोजना गरिने जनाउँदै वडाध्यक्ष श्रेष्ठले अनिवार्य मास्क लाएर मात्रै भेलामा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गर्नुभयो ।