• नमोबुद्ध संवाददाता,

भकुण्डेबेसी–काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गर्ने तयारी थालिएको छ । वन तथा वातावरण मन्त्रालयकी उपसचिव सिर्जना श्रेष्ठसहित बसेको बैठकले तत्काल कार्ययोजना निर्माण गरि कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगर प्रमुख टिपी शर्माले जानकारी दिनुभयो ।

एक करोड रुपैयाँ बजेट रहेको यो कार्यक्रमले वातावरण मैत्री नगर बनाउने अभियानलाई थप मद्दत पुर्याउने नगर प्रमुख शर्माले विश्वास व्यक्त गर्नुभयो ।

नमोबुद्ध नगरपालिकाले नगरलाई वातावरण मैत्री नगर बनाउन इँटा भट्टा विस्थापन लगायतका दीर्घकालीन महत्वका काम यस अगाडी नै गरिसकेको छ । नगरपालिकाले नगरभित्र सञ्चालन हुने हरेक आयोजनालाई वातावरण मैत्री ढंगले अगाडि बढाइरहेको वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालन हुन लागेको नेपाल जलवायु नमुना कार्यक्रमका लागि नगरको एउटा वडा छनोट गरेर काम अगाडि बढाइनेछ ।

यो कार्यक्रम सञ्चालन गर्न नगरपालिका प्रमुख शर्माको संयोजकत्वमा समन्वय समिति गठन गरेको गरिएको छ । समन्वय समितिले उपयुुक्त स्थान छनोट लगायतका काम गर्नेछ ।

समितिको सहसंयोजकमा उपप्रमुख रामदेवी तामाङ, सदस्यहरूमा कार्यक्रम सञ्चालन हुने वडाका अध्यक्ष, वातावरण अधिकृत सन्तोष काफ्ले तथा कार्यक्रमको साझेदार संस्थाका प्रतिनिधि रहने छन् भने सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !