• नमोबुद्ध संवाददाता,

पाँचखाल–सरकारले जग्गा पास गर्न चाहिने निवेदन र लिखत स्थानीय तहबाटनै तयार गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलोपटक पाँचखाल नगरपलिकाले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

भू–सेवा केन्द्रको एक कार्यक्रमका बीच बिहीबार पाँचखाल नगरका नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभयो । नगरप्रमुख खरेलले जनताको सेवाको लागि नगरले यो केन्द सञ्चालनमा ल्याएको बताउनुभयो । धुलिखेलमा पुगेर झन्झट बेहोर्दै आएका स्थानीयलाई यो केन्द्र स्थापना भएपछि सहयोग पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख लोक बहादुर भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई, नगरका शाखा अधिकृत राजेश बञ्जारा, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई लगायतले भू–सेवाबारे चर्चा गर्नुभयो ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको हो ।
सरकारले यो बर्ष भित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तह मार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाईनमा भएको फाराम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ ।

स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाईनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा जग्गा प्रशासनको काम अनलाईनमार्फत गर्नको लागि लिखत गरिने र त्यो लिखत गर्न यस अघि मालपोत कार्यालयले गत बर्ष ५२ जना र यो बर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइसकेको छ ।

मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस !