अनियमितता पुष्ट्याईं गर्न पालिका अध्यक्षको चुनौती
- नमोबुद्ध संवादाता,
तेमाल–सदरमुकाम धुलिखेलबाट उत्तरपूर्वि करीव ५० किलोमिटरको सवारी साधनको यात्रापछि पुग्न सकिने काभ्रेको तेमाल गाउँपालिका–०९ मेच्छेमा कोही विरामी हुनासाथ डोकोमा बोकेर धुलिखेल झर्नुपर्ने स्थिति । गाडी नचल्ने भएकोले यो नियती भोग्दै आएका यहाँका स्थानीयलाई सामान्य स्वास्थ्य समस्याले नै पिरोल्ने गथ्र्याे ।
विकासले गति लिदै गएपछि अहिले यहाँ नयाँ खुसीको सञ्चार भएको छ । पछिल्लो समय कम्तीमा हिउँदे सडक टोलटोलमा पुगेको छ । यहाँ सामुदायिक स्वास्थ्य इकाई पनि आएको छ, जटिल रोग बाहेकका सबै स्वास्थ्य समस्याहरु समाधान गर्ने गरी स्वास्थ्य सेवाहरु यस इकाईबाट स्थानीय जनताले निशुल्क पाउँछन् । हालै यहाँको स्वास्थ्य इकाईले मैनाजाङमा निर्मित नयाँ भवनबाट आफ्नो सेवा सुचारु गरेको छ । पालिका अध्यक्ष सलाम सिं तामाङले भवनको औपचारीक उद्घाटन गर्नुभयो ।
पालिकाले व्यवस्थापन गरेको ससर्त तर्फको ३३ लाख बजेटबाट ४ कोठे पक्की भवन निर्माण भएपश्चात भौगोलिक रुपमा वडाको केन्द्र मैनाजाङबाट सेवा थालिएको पालिका अध्यक्ष तामाङले स्पष्ट पार्नुभयो । उहाँले साविक मुक्पाटारमा रहेको स्वास्थ्य इकाई मैनाजाङमा ल्याउँदा सबैलाई पायक पर्ने विश्वास व्यक्त गर्दै यहाँबाट पाउने सेवा सुविधाबाट लाभ लिन सबै जनमानसमा आग्रह गर्नुभयो ।
पालिका अध्यक्ष तामाङले यस इकाईको भवन निर्माणमा अनियमितता भएको भनि सामाजिक सञ्जालमा गरिएको हल्ला निराधार रहेको दावी गर्नुभयो । भीरगाउँको कङ्क्रीट फोडेर ४ कोठे भवन बनाउनु चानचुने काम नरहेको स्पष्ट पार्दै उहाँले अनियमितताको पुष्ट्याईं गर्न चुनौती दिनुभयो ।
वडाध्यक्ष चन्द्रबहादुर लामाले छोटो समयमै स्वास्थ्य इकाईको भवन बनाउन सफल भएको जानकारी दिनुभयो । छोटो समयमा यो नतिजा हाँसील गर्न नसके बजेटनै फ्रिज हुने चुनौतीको सामना गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“सानो दुखले ल्याएको बजेट हैन,आज हामीले काम देखाउन सक्यौं,यहि ठूलो कुरा हो ।”
पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार सधैं संवेदनशील रहेको बताउनुभयो । पालिकाभरीको स्वाथ्य क्षेत्रको विकासमा यस्तै सकारात्मक प्रतिफल दिनेगरी आफू प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले तेमालमा आवश्यकताको आधारमा पालिकाले स्वास्थ्य इकाईको भवन वडा नं. ९ मा निर्माणको जिम्मा दिएको दावी गर्नुभयो ।
तेमालका साविक ७ वटा गाविसमा स्वास्थ्य चौकी रहकोमा नयाँ संरचनाअनुसार ९ वटा वडा बनेको र सोही अनुसार २ ठाउँमा स्वास्थ्य इकाई रहेको उल्लेख गर्दै अव यी स्वास्थ्य इकाईहरु स्वतः स्वास्थ्य चौकीमा परिणत हुने उहाँले बताउनुभयो ।
यसअघि मुक्पाटारमा रहेको यस स्वास्थ्य इकाईले हाल वडाको माझ स्थान मैनाजाङबाट सेवा दिन थालिएकोमा स्थानीय खुसी भएका छन् ।