“यो दशैँमा एउटा लिएर आउँदैछु ।”
- नमोबुद्ध संवाददाता,
दोलखा-नोवल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनले धेरैलाई समस्या आइपर्यो । कला क्षेत्रका गतिविधी पनि सुस्ताए तर दोलखाको घ्याङ सुकाथोकर-७ का जीतबहादुर खड्काको क्रियाशीलता घटेन ।
सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै नाच्न र स्वर खिपेर गीत गाउन खप्पिस खड्का ‘गोपाल’का दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।
उहाँले ‘सैलुङपारि हिमाल’, ‘आइयो नौलो गाउँ’, हृदयको आँसु’ जस्ता लोकप्रिय लोक तथा लोकआधुनिक गीतमार्फत् श्रोतामाझ आफ्नो पहिचान बनाइसक्नुभएको छ ।
उहाँले ‘हर्के हवल्दार’, ‘तीतो सत्य’, ‘हाकाहाकी’, ‘भूत’ र ‘बाँदरको हातमा नरिबल’ नामक टेलिशृङ्खलाका साथै थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ।
खड्काको ‘सैलुङपारि हिमाल’मा ‘च्यान्टी नानी काली काली’ र ‘पूर्वमा पर्यो दार्जेलिङ सहर’, ‘आइयो नौलो गाउँ’ जस्ता गीतहरू लोकप्रिय छन् ।
दोलखा कला प्रवद्र्धन समाजका अध्यक्ष समेत रहनुभएका खड्का नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा क्रियाशील हुनुहुन्छ ।
खड्का कोरोना कहरको लकडाउनको समयमा समेत निकै व्यस्त हुनुभयो। यसबिचमा केही म्यजिक भिडियो र टेलिशृङ्खलाहरूमा अभिनय गरेको उहाँले बताउनुभयो ।
योबीचको समय उहाँले ‘रुपकी रानी जोवनकी धनी’ लोकदोहोरी गीतको साथै दशैं सम्बन्धी गीतको तयारीमा खर्चिनुभएको छ । उहाँ भन्नुहुन्छ– “यो दशैँमा एउटा लिएर आउँदैछु ।”