• नमोबुद्ध संवाददाता,

भकुण्डेबेसी–काभ्रेको नमोबुद्ध नगरपालिकाले नगर झण्डा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले नगरको पहिचानसहितको नगर झण्डा परित गरेसँगै सार्वजनिक गरिएको हो ।

नमोबुद्ध नगरपालिका ८ निवासी प्रेम श्रेष्ठले तयार पारेको झण्डालाई नगर कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो ।

झण्डामा रातो र निलो रंगको पृष्ठभूमिमा नगरपालिकाको लोगो राखिएको छ । यसले शान्तिभूमि नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने नगर प्रमुख शर्माले बताउनुभयो ।

नगरपालिकाको लोगोसमेत यसअघि श्रेष्ठले नै डिजाइन गर्नुभएको थियो ।नमोबुद्धको नगर कार्यपालिकाको बैठकले झण्डाका डिजाइनर श्रेष्ठलाई धन्यवादसमेत व्यक्त गरेको छ ।

यसैगरी कार्यपालिका बैठकले विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढेको र असोज चौथो साताबाट नगरभित्रका विद्यालयहरुमा पठनपाठन सुरु हुने नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले बताउनुभयो ।

बैठकले नगरपालिकामा सूचना प्रविधि समिति गठन गरेको छ भने विभिन्न समितिहरुलाई पुर्णता दिने निर्णयसमेत गरेको छ ।

बैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्वन्धी कार्यविधि स्वीकृत गर्नुका साथै नगर युवा परिषद कार्यविधि २०७६ लाई संशोधन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !