
-
नमोबुद्ध संवाददाता,
ललितपुर-बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले पहिलो पटक यहाँको स्थानीय ट्राउट फार्म अवलोकन गर्नुभएको छ ।
उहाँले हालै युवाहरुद्वारा सञ्चालनमा ल्याइएको ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेरस्थित फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गर्नुभएको हो ।
फार्मको स्थलगत अबलोकन गर्दै लामाले युवा जनशक्तिलाई कृषि क्षेत्रमा लाग्ने उपयुक्त समय आएको बताउनुभयो । मन्त्री लामाले कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कुषिजन्य बस्तुमा आत्मनिर्भर बनाउँदै समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्नु आजको टड्कारो आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै सांसद लाल कुमारी पुन (शुशिला) ले संधै कोन्ज्योसोम गाउँपालिकामा के गर्न सकिन्छ भनि उल्लेख गरेको गरेको कुरा स्मरण गर्दै आफ्नो आत्मामा नै कोन्ज्योसम गाउँपालिका झुण्डिएको उहाँको भनाई छ ।
मन्त्री लामाले युवाहरुद्धारा सञ्चालित ट्राउट फार्म अवलोकन नै पहिलो ट्राउट फार्म अवलोकन रहेको जनाउँदै यसबाट बहुत खुशी लागेको बताउनुभयो ।
हेम मोक्तान र कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सुविन्द्र तामाङले स्थानीयको जग्गा भाडामा लिएर पाँच वर्ष देखि फुलचोकी जागरण रेन्बो ट्राउट फार्म शुरु गर्नुभएको हो ।
आवश्यक ट्राउट माछाको भुरा रसुवा र नुवाकोटबाट किनेर ल्याउनु परेको स्थिति टार्न यसको विकल्पमा यस वर्षदेखि आफ्नै ह्याचारीबाट आवश्यक भुरा उत्पादन गर्दै व्यवस्थित तरिकाले ट्राउट माछा उत्पादन गर्ने सञ्चालक हेम मोक्तानले बताउनुभयो ।
रेन्बो ट्राउट फार्म अवलोकनमा मन्त्री लामा लगायत प्रदेश सांसद माननीय लालकुमारी पुन ‘शुसिला’, कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान, भेट्नरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. नारायण श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत पराजुली, कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सुविन्द्र तामाङ लगायत सहभागी हुनुहुन्थ्यो ।
फोटो : पेमा मोक्तान