• नमोबुद्ध संवाददाता,

तेमाल–स्थानीय विकास निर्माणमा जिम्मेवार जनप्रतिनिधिको उदाहरण हो काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विकुलाल तामाङ । आफ्ना वडाको विकास निर्माणमा अहोरात्र खट्ने विकुलाल विकासमा आएको बजेटको अधिकतम लाभ हाँसील गराउन त्यसको कार्यन्वयनमा निकै चनाखो देखिनुहुन्छ ।

यसअघिका वर्षहरुमा बेलैमा योजना सम्झौता र योजनाहरु पूरा गरेका उहाँ यो पटक कोरोना महामारीको बेला पनि मौन बस्न सक्नुभएन । उहाँ भन्नुहुन्छ–“यो कोरोना कहिलेसम्म रहने हो यकिन भन्न सकिने स्थिती रहेन,हाम्रा विकास निर्माणका काम अलपत्र छोड्नुभएन,बेलैमा सकाउनुपर्छ भन्ने लागेर कोरोना सचेतना अपनाउदै उपभोक्ता भेला डाकेको छु ।” समय घर्केपछि योजनाहरु अधुरो रहने, बजेट फिर्ता हुने जस्ता अवस्था आउन नदिन उहाँ सदैव प्रतिवद्ध देखिनुहुन्छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ठुलोपर्सेलका लागि पालिकाबाट बजेट परेका २४ वटा योजना उपभोक्ता समितिमार्फत गरिने खालका छन् । एउटा उपभोक्ता समिति गठनका लागि कम्तीमा ९ जना उपस्थित हुदा सयौं स्थानियको भेला हुन आवश्यक हुन्छ, तर कोरोना महामारी जारी रहेकोले संक्रमण थपिएला भन्नेतर्फ सचेत हुदै वडाध्यक्ष तामाङले विभिन्न ७ स्थानमा भेला आह्वान गर्नुभएको छ ।

“एकै ठाउँमा भेला गर्दा कोरोना जोखिम छ त्यसैले सरकारका मापदण्डहरुको ख्याल गरी भौतिक दुरी कायम गर्दै फरक फरक समय र स्थानमा स्थानियलाई आउन सूचना जारी गरेको छु ।”,उहाँले स्पष्ट पार्नुभयो । यसका साथै टोलटोलमा योजना सम्झौताका लागि पुग्दा जनताको वास्तविक समस्या थाहा पाउने र आगामी वर्षका लागि योजना प्राथमिकता तय गर्न पनि सजिलो हुने वडाध्यक्ष तामाङको तर्क छ ।

यो पटक सामाजिक,आर्थिक र पुर्वाधार विकास क्षेत्र अन्तर्गतका ती योजनाहरु कार्यन्वयनका लागि असोज २ गतेदेखी असोज ६ गतेसम्ममा उपभोक्ता समिति गठन गरिसक्ने उहाँको तयारी छ ।

कुन–कुन योजनाको समिति गठन कहिले र कहाँ ? सूचना हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !