रंगशाला र दोर्जेगाङ निर्माण योजनाको डिपिआर गर्दै पालिका
-
नमोबुद्ध संवाददाता,
तेमाल–भनिन्छ : खेलकुद स्वास्थ्यका लागि,राष्ट्रका लागि,युवा भातृत्वका लागि हो । तर मुलुकका अधिकांश स्थानीय तहमा खेलकुदका दरिला संरचना निर्माण भएको देखिदैन ।
यीनै सन्दर्भमा काभ्रेको तेमाल गाउँपालिकास्तरीय खेलकुद रंगशालाको निर्माण प्रक्रिया सुरु भएको छ । यसले यहाँका युवामा आशाको सन्देश प्रवाह गरिदिएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा बजेटमा समावेश गरी तेमाल रंगशाला योजनाको पहिलो चरणको काम डिपिआर थालिएको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“रंगशाला चपाखोरीमा बनाउँदैछौं,यसलाई हामीले क्रमागत योजनामा राखी अगाडी बढाउँदैछौं,चालु आर्थिक वर्षभित्र केहि न केहि संरचना बन्छ,यहि मुताविक हामीले प्राविधिकहरुबाट डिपिआर थालेका छौं ।”
पालिका उपाध्यक्ष तामाङका अनुसार चालु आर्थिक वर्षमा रु ७० लाख बजेट छुट्टाएकोमा १० लाखमा डिपिआर सकाउने र ६० लाखबाट ग्राउण्ड सम्याउनेदेखी अन्य संरचनाहरुको निर्माण थालनी गरिनेछ । “यहि वर्षमा आधारभूत रुपमा रंगशालाले एउटा आकार ग्रहण गर्छ,त्यसैले यहाँ अध्यक्ष कप फूटवल प्रतियोगिता गर्ने लक्ष्य समेत छ ।”–उहाँले थप प्रकाश पार्नुभयो ।
कोरोना महामारीकैबीच आवश्यक सावधानी अपनाउँदै रंगशाला निर्माण योजनाका साथै दोर्जेघ्याङको दोर्जे निर्माण योजनाको पनि डिपिआर सुरु गरिएको उपाध्यक्ष तामाङले स्पष्ट पार्नुभयो ।