• नमोबुद्ध संवाददाता,

सस्र्यूंखर्क–काभ्रेको तेमाल गाउँपालिका वडा नं.१ सस्र्युंखर्क,२ चुखा र ३ नं. वडा सरमथलीका किसानहरुको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सोमबार कृषि उपज बजार सञ्जाल गठन गरिएको छ ।

तीन वटा वडाका किसानहरुको भेलामार्फत सुर्यदय वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विरनन्द तमाङको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको सिप्रेड संस्थाले जनाएको छ ।

कृषि उपज उत्पादन बृद्धि गराउन सहयोग गर्ने गरी स्थानिय वडा कार्यालयसँगको समन्वयमा सिप्रेड संस्थाको सहयोगमा कृषि परियोजना सञ्चालन हुने र त्यसमा बजार र किसानको प्रत्यक्ष पहुँच बिस्तारमार्फत आयआर्जन वृद्धिका लागि यो सञ्जालको भुमिका रहने वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले बताउनुभयो ।

भेलामा सिप्रेडका जिल्ला संयोजक विवेक आचार्य, कार्यक्रम अधिकृत नवराज न्यौपाने, कृषि प्राविधीक नारायण खत्री लगायतले सञ्जालको औचित्यमाथि प्रकाश पार्नुभयो । त्यस्तै तेमाल गाउँपालिकाका कृषि शाखा प्रमुख पवन वलीले सिप्रेड र पालिकाबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

यसअघि पनि सिप्रेडले तत्कालिन सस्र्युंखर्क गाविसमा तरकारीको वीउविजन विकास,उत्पादन तथा बजारीकरणको परियोजना सञ्चालन गरेको थियो ।

यी ३ वटा वडामा हाल मकै खेतीभन्दा बढि अदुवा,गोलभेंडा,बोडी,सिमी,काउली,काँक्रो,केराउ,करेला लगायतका नखदे बाली लगाउने गरिन्छ । पछिल्ला समय सिञ्चाई समस्याकाबीच पनि यहाँका किसानले वेमौसमी तरकारी खेती समेत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस !