• नमोबुद्ध संवाददाता,

धुलिखेल–नोवल कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला भित्र समेत बन्द रहेको यातायात सेवा काभ्रेमा फुकुवा गरिएको छ । जिल्लामा मंगलबारदेखी नीजिका साथै सार्वजनिक यातायातका साधन चल्ने भएको हो ।

जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्रको सोमबारको बैठकले जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । सर्वसाधारणको कठिनाईलाई मध्यनजर गर्दै सवारी साधन चलाउन दिने निर्णय गरिएको कोभिड–१९ संक्रमण, नियन्त्रण, रोकथाम, र उपचार सम्बन्धी जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्रका संयोजक,प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कोभिड– १९ को संक्रमण फैलिरहेको अवस्था विद्यमान रहेको निश्कर्ष निकाल्दै जनस्वास्थ्यको मापदण्ड तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरेर मात्रै सवारी साधन चलाउन दिने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकको निर्णय अनुसार मंगलबारदेखी पूर्वमा मंगलटार, उत्तरपूर्वमा दोलालघाट र उत्तरपश्चिममा बनेपा बसपार्कभित्र यस अघि संचालन हुँदै आएका सबै रुटहरुमा यातायात सञ्चालन हुनुपर्नेछ । साथै काठमाडौ उपत्यकामा भने निशेधाज्ञा कायम रहेको सन्दर्भमा राजधानी प्रवेश गर्ने साँगा र नाला नाकामा कडाई रहेकोतर्फ मध्यनजर गर्दै सार्वजनिक सवारी साधनहरु बनेपा बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस !