• पेमा तामाङ मोक्तान,

सिन्धुपाल्चोक–गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडित तामाङ समुदायलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ संघसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४ सय ९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको ४ लाख ८९ हजार २ सय २५ गरि एकमुष्ट २७ लाख १ हजार ७ सय २० रूपैयाँ रकम पीडित परिवार समक्ष राहतस्वरुप हस्तान्तरण गरिएको हो ।

पीडितहरुको अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका १ स्थित बाँसखर्कमै पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व संविधानसभा सदस्य दावा तामाङ,नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले लगायतको प्रतिनिधि टेलीले उक्त राहत रकम वितरण गरेको हो ।

संकलित सहयोग रकम मृत्यु भएका १२ धुरीलाई ६० हजारका दरले ७ लाख २० हजार, पूर्णघर क्षति भएका १७ घरधुरी लाई २५ हजारका दरले ४ लाख २५ हजार, विस्थापित १४१ घरधुरी लाई १० हजारका दरले १४ लाख १० हजार छन् ।

तामाङ समाज बेल्जियम रु. ४ लाख, तामाङ समाज जापान रु. ३ लाख ७० हजार, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु. ३ लाख ३२,हजार , तामाङ घेदुङ हङकङ रु. ३ लाख ८ हजार, तामाङ घेदुङ यु.के. रु. २ लाख १ हजार, नेपाल तामाङ घेदुङ बहराईन रु. १ लाख ५२ हजार, नेपाल तामाङ घेदुङ कतार रु. १ लाख २० हजार,३सय ८४, नेपाल तामाङ घेदुङ साइप्रस रु. १ लाख हजार, मकाउ तामाङ घेदुङ एसोसियसन रु. १ लाख १०हजार र नेपाल तामाङ घेदुङ मलेसिया रु. १ लाख ४ हजार रकम संकलन भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा घेदुङ उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ट उपाध्यक्ष टासी लामा, महिला उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिका प्रमुख अमान सिं तामाङ, घेदुङ केन्द्रीय सदस्य राम लामा, जिल्ला घेदुङ सि.पा. अध्यक्ष रेशम स्याङ्बो लगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

बर्षौदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको पीडितहरुले भनाई छ । उनीहरुले यस अघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको गुनासो गरे ।

फोटो : पेमा तामाङ मोक्तान

प्रतिक्रिया दिनुहोस !