• नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको केन्द्रदेखि वडा स्तरसम्मका कार्यालयहरुले दिने सेवा शुक्रबारबाट सुचारु भएको छ । स्थानीय तहस्तरसम्म नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिन थालेपछि तेमाल गाउँकार्यपालिकाको कार्यालयले यसतर्फ सतर्कता अपनाउदै स्थगित राखेको सेवा सुचारु गरिएको पालिका उपाध्यक्ष दुर्गामाया तामाङले स्पष्ट पार्नुभयो ।

सेवा सुचारुबारे पालिकाले सूचना नै जारी गरेको उहाँले बताउनुभयो । “गाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुँदै आएका अत्यावश्यक वाहेकका सेवाहरु मिति २०७७।०५।०५ देखि लागु हुने गरी स्थागित गरिएकोमा यहि मिति २०७७।०५।२६ देखि लागु हुने गरी गाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट पूर्ववत् रुपमा सम्पूर्ण सेवाहरु स्वास्थ्य सुरक्षा सम्बन्धि सुरक्षा मापदण्ड पालना गर्दै प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।” जारी सूचनामा उल्लेख छ ।

सार्वजनिक सूचनामा स्थानियबासी तथा सेवाग्राहीलाई लक्षित गरी ३ बुंदे नियमहरुसमेत उल्लेख छ ।

१. कर्मचारीहरुले कार्यालयमा उपस्थित भई सेवा प्रवाह गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र एक अर्काको विचमा सामाजिक दूरी कायम गर्नुपर्ने ।

२. सेवाग्राहीहरु कार्यालयमा आउँदा अनिवार्य रुपमा मास्क लगाएर आउनुपर्ने र एक अर्काको विचमा समाजिक दूरी कायम गर्नुपर्ने ।

३. कार्यालयमा अनावश्यक रुपमा भिडभाड नहोस् भन्ने उद्देश्यले सम्बन्धित व्यक्तिहरु बाहेकलाई कार्यालय प्रवेश गर्न नदिईने ।

पालिका क्षेत्रभित्र कुनैपनि खालको भिडभाड हुने प्रकृतिका भेला,सभा सम्मेलन,भोज जस्ता कार्य नगर्न गरिएको अनुरोध भने यथावतनै रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !