-
विजय लामा,
बनेपा–काभ्रेको बनेपा नगरपालिका–१० पुलबजारमास्थित पुण्यमाता खोलामा रहेका ऐतिहासीक मल्लकालीन पुलको सरसफाई गरिएको छ । फोहोर मैलाको कारण कुरुप बन्दै गएको पुलको संरक्षणका लागि उक्त पुल र त्यसको आसपासको क्षेत्रमा हालै नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगरसमितिको सक्रियतामा सरसफाई गरिएको हो । कारोना भाइरस (कोभिड–१९) को उच्च जोखिमकै बिच भौतिक दुरी कायम गरी पुलको वरिपरि रहेका प्लाष्टिक,घाँसपात, झाडी,झ्याउ लगायतका फोहोरको सफाई गरिएको हो ।
उक्त पुल क्षेत्र धार्मिक तथा पुरातात्विक हिसाबले समेत निकै महत्वपुर्ण रहेको पुरातत्वविद्हरु बताउँछन् । प्रचीन बनेपामा ‘भोलाखा’ भन्ने बस्ती रहेको मानिन्छ । वि.स. ११५९ मा पुर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपाको भोलाखासँग अन्य बस्तीहरु जोडिने बाटो निमार्णको क्रममा पुलबजारामा पनि पुल बनाएको हुन सक्ने उनिहरुको भनाई छ ।
अरनिको राजमार्ग निर्माण हुनु पहिले बनेपा–काठमाडौँ अन्तर्गतको यो बाटो पुल बजारको पुरानो पुल हुँदै दछुटोलसम्म जोडिन्थ्यो । पुण्यमाता खोलाको कारण मानिस हिड्न समस्या भएपछि पुलको स्थापना गरेको देखिन्छ । यो पुलको बाटो हुँदै मानिसहरु दछुटोलमा रहेको प्राचीन गणेश मन्दिर हुँदै चण्डेश्वर मन्दिरसम्म दर्शन गर्न पुग्ने गरेका छन् ।
वडाध्यक्ष चन्द्रबहादुर खड्काले मल्लकालीन पुलमा पहिलो पटक बनेपाको धनदास बादे श्रेष्ठले लहरी गाडी चलाएको स्मरण गर्दै पुलको संरक्षणको लागि आफुले पहल गरिरहेको जानकारी दिनुभयो । ‘बनेपाको अत्यन्त पुरानो ऐतिहासिक पुल कहिले बनेको भन्ने कुनै तथ्य फेला परेको छैन’, उहाँले भन्नुभयो, ‘कोभिड–१९ को जोखिमबीचमा पनि हातमा पञ्जा र मुखमा मास्क लगाउँदै भौतिक दुरी कायम राखि टे«ड युनिय बनेपा नगरसमितिको अगुवाईमा मजदुरहरु कुटो कोदालो बोकेर सरसफाईमा जुट्दा म उत्साहित छु, यसले निरन्तरता पाउनु छ ।
त्यस्तै नेकपा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले घरभित्र बसेर मात्र कोभिड–१९ लाई परास्त गर्न नसकिने बताउँदै भौतिक दुरी कायम राखी आफ्ना घर वरपर सफा राख्न स्थानीयहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । ‘ कोभिड–१९ सँग लड्न वातावरण पनि सफा हुनुपर्छ भन्ने चेतना दिलाउन ट्रेड युनियनले गरेको काम अनुकरणीय छ,’ नेता थिङले भन्नुभयो, ‘मर्निङ वाकमा आउने क्रममा ट्रेड युनियन महासंघका साथीहरू सरसफाइमा जुटेको देखेर म पनि सहभागी भएँ ।’
ट्रेड युनियन महासंघ बनेपा नगरसमितिका इन्चार्ज राजन अधिकारीले कोरोना भारइसले विश्व आक्रान्त भनिरहेको सन्दर्भमा पनि आफ्ना क्षेत्रमा रहेको पुरातात्विक सम्पदा जोगाउन तथा तिनीहरुलाई कालान्तरसम्म जिवित राख्न मल्लकालीन पुल सफाई गरेको जानकारी दिनुभयो । उहाँले अहिले पार्टी र सरकारले गरेको कामको आलोचना मात्र हुने गरेको वखत यो कामबाट सरकारले राम्रो काम पनि गरिरहेको भन्ने सन्देश जाने तर्क गर्नुभयो । दिनभरी मोबाइल चलाएर नकारात्मक टिकाटिप्पणी गर्नु भन्दा सिर्जनात्मक काममा लाग्न प्रेरित गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र पछिल्लो समय छरिएर रहेका मजदुर साथीहरूलाई एक ठाउँमा ल्याउन पनि पहल गरेको उहाँले बताउनुभयो ।
सरसफाई कार्यक्रममा ट्रेड युनियन नगरसमितिको संयोजक मिनराज केसी, राम शरण खुलाल, दिल बहादुर भुजेल, विनोद नेपाली, मानकाजी सुवाल, इकमान लामा, उद्धव प्रसाद तिमल्सिना, मान बहादुर दर्लामी (सलन), पुर्ण चन्द्र सिग्देल, पुर्ण बहादुर खत्री, भुवन कुमार सिंजाली, उपेन्द्र ठाडा मगर, उद्धव अधिकारी, श्रजला कटुवाल, वेली माया लामा, सदिक्षा अधिकारी, देवी लामा, सुजना पराजुली, हरि बहादुर पराजुली, गोविन्द कटुवाल, महेश कार्की लगायतका मजदुरहरु र स्थानीयहरुको उल्लेख्य उपस्थिति रह्यो ।