-
नमोबुद्ध संवाददाता,
काभ्रे–जिल्लाको विकट क्षेत्र डाँडापारि,महाभारत गाउँपलिका–८ बनखुकी क्यान्सर पीडित सुकुमाया थिङको उपचारको क्रममा निधन भएपछि उहाँको उपचारको लागि संकलन भएको रकम छोराछोरीको पठनपाठनको लागि प्रयोग गर्ने भएको छ । विदेशबाट सहयोगीहरुले पठाएको २ लाख २२ हजार ३ सय ४२ रुपैयाँ सुकुकमायाको छोराछोरीका शिक्षामा खर्च गर्ने भएको हो ।
नेपालबाट सहजीकरण गर्ने अभियन्तामध्येका एक तस्वीर मोक्तानको नाममा महाभारत गाउँपालिकास्थित सनराईज् बैंकको खातामा पठाएको उक्त रकम हालै महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले सुकुमायाका श्रीमान प्रताप थिङलाई हस्तान्तरण गर्नुभयो ।
थिङको उपचार गर्न भनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका महाभारतवासी लगायतले उक्त रकम संकलन गरेका थिए । तर संकलन भएको रकम बुझाउन नपाउँदै थिङको निधन भएपछि सहयोगीहरुले उक्त रकम छोराछोरीको शिक्षामा प्रयोग गर्ने निर्णय गरेसँगै गाउँपालिका अध्यक्ष जिम्बाले मृतकको श्रीमानलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष जिम्बाले सहयोगीहरुले आफ्नो छाक कटाएर पठाएको सहयोग रकमलाई छोराछोरीको पठनपाठनमानै उचित उपयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
“अभियान नै सञ्चालन गरी उपचार गरेपनि विरामीलाई बचाउन सकेनौं,त्यसमा हामी सबै अभियन्ता पनि दुःखी छौं ।” उहाँले भन्नुभयो, “यस दुःखत् घडीमा मृतकप्रति हार्दिक श्रद्धाण्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै सहयोग रकम छोराछोरीको शिक्षामा सही सदुपयोग गर्न अनुरोध गर्छु । जसबाट छोराछोरीले गर्वका साथ आफ्नी आमा नरहे पनि सहयोग रकमबाट राम्रो पठनपाठन गर्न पायौँ भन्न सकुन्, हाम्रो चाहना अनि अनुरोध यही हो ।”
सुकुमायाका श्रीमान प्रताप थिङले पनि सहयोग रकमलाई सही सदुयोग गर्ने बचन दिनुभयो । “मेरोलाई छोराछोरीको थप अध्ययनको वातावरण राम्रो बनाउन विदेशदेखी यहाँहरुले सहयोग गर्नुभएको रकमलाई कुनै हिनामिना नगरी उचित प्रयोग गरी उनीहरुको पठनपाठनमा नै खर्च गर्नेछु ।” उहाँले भन्नुभयो ।
रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतको टोली अस्पताल पुग्नुभएको थियो ।
क्यान्सर पीडित सुकुमायाको गत असार २३ गते टिचिङ अस्पातलमा उपचारको क्रममा निधन भएको थियो ।