
-
नमोबुद्ध संवाददाता,
काठमाडौं–विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) को कहर छ, यो परिस्थितीमा सबैभन्दा समस्या सर्वसाधारण नागरिकले पाइरहेका छन् । यसमा पनि अझ ज्यालादारी मजदुर,सडक बालबालिका,असहायहरुले मार खेपरिहेका छन् ।
यीनै सन्दर्भमा असहाय बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको चौतर्फी महिला विकास संस्था सामाखुसीलाई लायन्स क्लब अफ काठमाडौँ युनाइटेड फ्रेन्डस र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सले संयुक्त रुपमा दिवाखाजा र खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।
कोराना कहरको विषम् परिस्थितिलाई ध्यानमा राख्दै उक्त संस्थामा रहेका बालवालिकाहरुलाई विशेष सहयोग प्रदान गरेका जनाएका छन् । सरिता खड्काद्वारा सञ्चालित सो संस्थाले विगत लामो समयदेखि असहाय बालबालिकाहरुलाई हुर्काउने र पढाउने काम गरिरहेको छ ।
‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल मान्यतालाई साकार पार्ने अभिप्रायले उक्त क्लबले साप्ताहिक रुपमा नै राजधानीमा अभियान चलाइरहेको छ । यो पटकको विशेष कार्यक्रममा प्याराडाइम पब्लिक स्कुल एवम् समाजसेवी रेजिन श्रेष्ठको समन्वयमा अक्षता बहुउद्देश्यीय सहकारी संस्था लि.,अनमोल वचत तथा ऋण सहकारी संस्था लि., सन्तोष श्रेष्ठ, लिधङ्सा वचत तथा ऋण सहकारी संस्था लि., सोनाम श्रेष्ठ मुस्कानले कार्यक्रमलाई विशेष सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा युनाइटेड फ्रेन्ड्स्को तर्फबाट अध्यक्ष लायन दीपक थापा, लायन वेदनाथ ढकाल ( सर्भिस चेयर पर्सन), डिरेक्टर लायन सन्तोष श्रेष्ठ, लियो क्लबको तर्फबाट कोषाध्यक्ष लियो दीपा दाहाल र सहसचिव अमृत भट्टराई र लियो अर्जुन समशेर कुवँरको प्रत्यक्ष सहभागिता रहेको थियो । विशेष गरी बन्दाबन्दीको कारणले भोक भोकै जीवन कटाउन बाध्य भएकाहरुलाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्ने गरिएको लायन दीपक थापाले जानकारी गराउनुभयो ।