-
नमोबुद्ध संवाददाता,
सल्ले भुम्लु–काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले आफ्नै बैक्हो लोडर जेसिभी थ्रि डिएक्स लोडरले सडक सफा गर्ने काम सुरु गरेको छ । विकट भौगोलिक क्षेत्र रहेर पनि स्थानीय तहको निर्वाचनपछि त्यहाँको नेतृत्वले विकासमा निरन्तर फड्को मार्ने क्रममा बैक्हो लोडर जेसिभी यसको सारथी बनेको हो ।
भुम्लु गाउँपालिकामा १२ महिनाभरिनै त्यहाँको सडक लगायत विकास निर्माणको काम संचालन गर्न आवश्यक रहेको बैक्हो लोडर जेसिभी थ्रि डिएक्स लोडर खरिद गरेर काम थालेको पालिकाले स्पष्ट पारेको छ ।
गाउँपालिकाले हरेक बर्ष सडक सफा गर्ने कार्य लगायतका कामहरुमा लाखौं रुपैयाँ खर्च हुने देखिएपछि गाउँपालिकाले जेसिभी खरिद गरेको पालिका अध्यक्ष गुमानध्वज कुंवरले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको विकासको काममा अत्यावश्यक रहेकोले जेसिभी खरिद गरेको बताउनुभयो । अध्यक्ष कुंवरले अब गाउँपालिकाभरीको विकास निर्माणमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
बर्षातको समयमा सडकमा आउने पहिरोसँगै अतिआवश्यक कामहरु यीनै भ्याकुम लोडरले पन्छाउने भएकोले सडक यातायातमा आफुहरुको सास्ती दुर हुने आशा स्थानीयले गरेका छन् ।