
-
नमोबुद्ध संवाददाता,
महाभारत–काभ्रेका स्थानीय ग्रामीण क्षेत्रहरुमा समेत नोवल कोरोना भाइरस(कोभिड–१९) महामारीको जोखिम बढेपछि जनप्रतिनिधिहरु कस्सिएका छन् । ३ महिना अगाडी नेपालमा कोरोनाको सुरुवाती चरणमा एक पटक मानिसहरुको आउजाउ बढि हुने स्थानिय तहका नाका नाकामा हेल्थ डेक्स सञ्चालन गरेपछि सेलाएका जनप्रतिनिधिहरु पुन:जागृत भएका हनु् ।
अहिले स्थानीय सरकार प्रायले अतिआवश्यक बाहेकका सेवा बन्द गरेर आवश्यक सावधानी अपनाउन घोत्लीन थालेका हुन् । कोही क्वारेन्टाइनको थप व्यवस्थापनमा लागेका छन् भने कोही जागरण अभियानमा निस्केका छन् ।
यिनै सन्दर्भमा आफ्ना पालिकाभित्रका नागरिकमा पनि कोरोना देखिन थालेपछि जिल्लाको महाभारत गाउँपालिका अध्यक्ष जनताको घर दैलोमा निस्कनुभएको छ । काभ्रेको मुख्य बजार क्षेत्रका अलावा डाँडापारी क्षेत्रमा समेत यो रोगको जोखिम बढेको भन्दै सचेतना अभियान लिएर पालिका अध्यक्ष कान्छालाल जिम्बा जनताको घरदैलोमा लाग्नुभएको हो ।
कोरोना भाइरसले मुलुकमा पारेको नकारात्मक प्रभाव र आफ्नो क्षेत्रभित्र पर्ने जोखिम रोकथामका लागि जनस्तर र पालिका स्तरबाट गर्न सकिने भुमिका बुझाउने काम यत्तिबेला पालिका अध्यक्ष जिम्बाले गरिरहनुभएको हो ।
पछिल्लो समय जिल्लामा भयाभह स्थिति आउन सक्नेतर्फ मध्यनजर गर्दै अब जनप्रतिनिधि जनताको मनोबल दरिलो बनाउन र आफैंले गर्न सक्ने उपायबारे बताउन जनतामाझ पुग्न आवश्यक रहेको तर्क गर्दै अध्यक्ष जिम्बाले भन्नुभयो–“यसको रोकथामको जिम्मेवारी हाम्रै हो,त्यसैले जनतालाई सहि सूचना दिने, जनताको समस्या बुझ्ने र सामूहिक रुपमा कोरोना विरुद्ध लड्ने आधार तय गर्न यो घरदैलो अभियान सञ्चालन गरेका हौं ।”
अहिलेसम्म गोकुले, घर्तिछाप, बनखु, फोक्सीङटार, बुढाखानीसम्मको घरदैलो अभियानमा आफूले जनतामाझ पुगेर विभिन्न विरामीहरुको अवस्था बुझ्ने,कोरोना भाइरससँग सामुहिक तवरले जुझ्न जनता र स्थानिय सरकारबिचको सहकार्यको सम्बन्ध स्पष्ट पार्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष जिम्बाका अनुसार यो घरदैलो अभियानका क्रममा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षका विकास निर्माणका योजना कार्यन्वयन र त्यसबाट हाँसील भएको उपलब्धी के कति रह्यो भन्ने बारेमा पनि जनतासँग परामर्श गर्नुभएको छ ।