
- नमोबुद्ध संवाददाता, भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकाले नोवल कारोना भाइरस(कोभिड–१९) महामारी फैलन नदिन भिडभाड र आउजाउ हुने खालका सामान्य सेवाहरु आगामी एक सातासम्मका लाागि बन्द गरेको छ ।
नगरपालिकामै कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र कन्ट्रयाक्ट ट्रेसिङ लगायतका कार्य सहज बनाउन अति आवश्यक बाहेकका सेवा वन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बताउनुभयो ।
उहाँका अनुसार आइतबार बसेको कार्यपालिका बैठकले नगर र वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा वन्द गर्ने निर्णय गरेको हो । यहि सोमबारबाट भदौ २२ गते सोमबारसम्मका लागि सामान्य सेवाहरु सेवा वन्द गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमिल्सिनाले स्पष्ट पार्नुभयो ।
बैठकले कोरोना पुष्टि भएका कर्मचारी बसेको भकुण्डे बजारस्थित एक घर र उक्त घरको एक सय मिटर वरपर अर्को निर्णय नभए सम्मको लागि उक्त घरमा बसोबास गर्ने व्यक्तिहरु र अन्य व्यक्तिहरुलाई उक्त क्षेत्रमा आवतजावतमा रोक लगाउने निर्णय समेत गरेको छ ।
यस्तै नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलन नदिन र कन्ट्रयाक्ट ट्रेसिङका लागि वि.पि. राजमार्ग अन्तर्गत बुच्चाकोट–भकुण्डे–नौबिसे–जयमंगलटार आसपास रहेका स्वास्थ्य सेवासँग सम्बन्धित व्यवसायहरु बाहेकका वित्तीय क्षेत्र लगायत सम्पूर्ण व्यवसायहरु अर्को निर्णय नभए सम्मको लागि बन्द गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकामा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जना निको भएर घर फर्किसकेका छन् । संक्रमण पुष्टि भएका वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने शुक्रबार कोरोना पुष्टि भएका कर्मचारी नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका छन् ।