
- नमोबुद्ध संवाददाता, भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपांगता भएका व्यक्ति र स्थानीय स्वास्थ्य स्वयंसेविकाहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको आइतबार बसेको बैठकले पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण स्वास्थ्य स्वयंसेविकाहरुदेखी अपांगता भएका व्यक्तिहरु पनि बढी प्रभावित हुने देखिएकाले तत्कालै उनिहरुको कोरोना बिमा गर्ने निर्णय गरेको प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।
‘विपन्न र असहाय वर्गको हितका लागि नमोबुद्ध नगरपालिका सबैं प्रयत्नशील रहेको छ’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘आगामी दिनमा पनि उहाँहरुको हितका लागि आवश्यक कार्यक्रम अघि बढाउन थप योजनाहरु निर्माण गरिनेछ ।’
प्रमुख तिमल्सिनाका अनुसार विभिन्न समयमा अपांगता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपांगता भएका व्यक्तिहरु कोरोना बिमाबाट लाभान्वित हुनेछन् ।
यस नगरपालिकामा रातो अपांगता परिचयपत्र पाउने ९० जना र निलो परिचयपत्र पाउने व्यक्ति १ सय ४५ जना छन् भने स्थानीय स्तरमा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।