“ज्यान रहे भोली अनेक गर्न सकिन्छ,ज्यानै रहेन भने केही पनि रहने छैन।”

  • नमोबुद्ध संवाददाता,

धुलिखेल–काभ्रेको चौंरीदेउराली गाउँपालिकाले अति आवश्यक बाहेकका सामान्य सेवाहरु थप ७ दिन बन्द राख्ने निर्णय गरेको छ । यसबारे गाउँपालिकाले सूचना जारी गरेर जानकारी गराएको हो । अध्यक्ष दिननाथ गौतमद्धारा जारी सूचनामा आजसम्म गाउँपालिका क्षेत्रभित्र कोरोना संक्रमित कोही नभएपनि आवश्यक सावधानीस्वरुप सामान्य सेवाहरु बन्द गरेको उल्लेख छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणणको लागि सुरक्षाका सबै उपायहरु अपनाउन सम्पूर्ण गाउँबासीमा अनुरोध गर्दै अध्यक्ष गौतमले कोरोना रोकथामका लागि भदौ १९ गतेसम्मलाई पालिका केन्द्र र वडास्तरबाट हुने अतिआवश्यक बाहेकका सेवाहरु बन्द गरेको स्पष्ट पार्नुभयो ।

सूचनामा उल्लेख छ–“ज्यान रहे भोली अनेक गर्न सकिन्छ,ज्यानै रहेन भने केही पनि रहने छैन,त्यसकारण सम्पूर्ण गाउँपालिकाबासी जनसमुदायको स्वास्थ्य हितका लागि गाउँपालिकाले आज(भदौ १२ गते) सम्म गाउँपालिकाका अति आवश्यक बाहेकका सबै सेवाहरु बन्द गरी राखेकोमा थप ७ दिनका लागि निम्नानुसार गर्नु गराउनु हनु सबैमा यो सूचना जारी गरिएको छ ।”

कोरोना महामारीलाई मध्यनजर राखी आवतजावतमा कडाई गर्नेगरी विभिन्न ७ बुंदे सूचना जारी गर्दै पालिकाले यी नियम पालना नगरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

के गर्न पाउने, के गर्ने नपाउने ?

१. गाउँपालिकाबाट बाहिर रहनुहुने सबै जनसमुदाय सम्भव भएसम्म जहाँ हुनुहुन्छ, त्यही रहनुहोला । घरपरिवारमा आउन चाहनुहुन्छ भने कम्तिमा १४ दिन घरमै होम क्वारैन्टाइनमा रहने र छरछिमेक, गाउँघरमा कोही कसैसँग पनि घुलमिल तथा सम्पर्क नगरी सेल्फ क्वारैनटाइनमा रहनु होला ।

२. स्वास्थ्य सम्बन्धी समस्या तथा संक्रमणको केही लक्षणहरु देखा परे तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।

३. गाउँपालिका भित्रका सबै बजारहरु, पसल, होटल र व्यवसायहरु पूर्णरुपामा बन्द रहनेछन् । प्रत्येक दिन अत्यावश्यक पर्ने खाद्य सामाग्री वलागतका किराना पसलहरु बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र खुल्ने र त्यसपछि बन्द रहने छन् ।

४. औषधी तथा भेटनरी पसलहरु चौवीसै घण्टा खुल्ला रहने छन् । सार्वजनिक तथा नीजि यातायता सेवा –विशेष गरी काठमाडौं उपत्यका र अन्य गाउँपालिकाबाट यहाँ र रामेछापसम्म जान) पूर्णरुपमा बन्द गरिएको छ ।

५. खाद्यान्न तथा निर्माण सामाग्री ओसारपसार गर्ने साधनलाई भने रोकिने छैन । तर यी साधनहरुले मानिस ओसारपसरा गरेको पाइएमा नियमानुसार कारबाही गरिनेछ ।

६. गाउँपालिकाको कार्यालय आन्तरिक हिसाबले सञ्चालन भई रहनेछ । जनसरोकारका अत्यावश्यक कार्यभन्दा बाहेक अन्य सेवाहरु बन्द रहनेछन् ।

७. यो सूचनालाई आधार मानी सबै वडाहरुले पनि थप सार्जजनिक सूचना प्रकाशित गर्न सकिनेछ । हाम्रो गाउँपालिका भित्र अहिलेसम्म कोही पनि संक्रमित भएको छेन । अब पनि संक्रमणलाई नभित्र्याउन र क्षति हुनबाट सबैलाई जोगाउन गाएँपाकिलाकाबासी सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुको सहयोग र सक्रियाताले मात्र सम्भव छ । विश्वास छ, सबैले आ–आफ्नो ठाउँबाट यो जिम्मेवारी वहन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !