• नमोबुद्ध संवाददाता,

भकुण्डे– धुलिखेल अस्पतालबाट कोरोनालाई जितेर बिहीबार घर फर्केकी काभ्रेको नमोबुद्ध–५ की १७ वर्षीया किशोरीको अभिभावक बन्नुभएको छ नगरपालिकाका प्रमुख (मेयर) टिपी शर्मा तिमल्सिना । मेयर तिमल्सिनाले शुक्रबार ती किशोरीको घरमै पुगेर उनको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

तिमल्सिनाले स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत तर्फबाट खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको स्पष्ट पार्नुभयो । वडाअध्यक्ष बुद्धसिंह तामाङसँगै शुक्रबार ती किशोरीको घरमा पुगेका तिमल्सिनाले किशोरीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि आफ्नै खर्चमा उनलाई स्नातकसम्म पढाउने निर्णय गर्नुभएको हो ।

ती किशोरी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको परिवारमा ६ जना रहेका छन् भने परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ । उनका पिताले सामान्य खेती किसानी गरेर परिवार चलाउँदै आएका छन् ।

देशका विभिन्न स्थानमा कोरोना संक्रमितमात्रै नभई उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथिसमेत दुव्र्यवहार भइरहेका बेला किशोरी र उनको परिवारको हौसला बढाउन तिमल्सिना किशोरीको घरमा पुग्नुभएको थियो । उहाँले कोरोना संक्रमण भएका व्यक्तिलाई दुव्र्यवहार हैन हौसला प्रदान गर्नुपर्छ भन्ने सन्देश समुदायसम्म पु¥याउनुपर्नेमा जोड पनि दिनुभयो ।

“अहिले कोरोना भाइरसका विषयमा समुदायमा जुन किसिमको त्रास र आतंक फैलिएको छ त्यो गलत हो, सबै यसबाट सचेत र सजग रहनुपर्छ”–मेयर तिमल्सिनाले भन्नुभयो ।

नगरप्रमुख आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा संक्रमणबाट मुक्त भएकी किशोरीले खुशी व्यक्त गरिन् । उनले आफ्नो शिक्षाका लागि नगरप्रमुखले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययन अगाडि बढाउन हौसला मिलेको पनि बताइन् । ती किशोरीमा कोरोना संक्रमण देखिएपछि साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !