नमोबुद्ध संवाददाता,
पाँचखाल– नोवल कोरोना भाइरस कोभिड–१९ का कारण स्थानिय क्षेत्रमा जोखिम बढ्न थालेपछि काभ्रेको पाँचखाल नगरपालिकाले भदौ १७ गते सम्मलाई अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
यस परिस्थितिलाई मध्यनजगर गर्दै नगरपालिकाले यो १७ सम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबाहदुर भण्डारीले जानकारी दिनुभयो ।
नगरप्रमुख महेश खरेलको संयाजकत्वमा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस अघि भदौ १२ गते सम्म अत्यावश्यक सेवा बाहेकका कामहरु रोक्ने निर्णयलाई निरन्तरता दिदै थप ५ दिन सामान्य सेवाहरु गर्न नसकिने निर्णय गरेको हो ।
वडास्तरसम्म कोरोना सावधानी
बैठकले कोरोना रोकथाम एवं नियन्त्रण र प्रतिकार्यका लागि यस अघिका समेत सबै निर्णयहरूको कार्यान्वयनको थप प्रभावकारिताका लागि स्थानीय जनप्रतिनिधि एवं सुरक्षा निकायबाट सघन अनुगमनलाई निरन्तरता दिने, नगरपालिका कार्यालय र वडा कार्यालयले प्रवाह गर्ने सेवाको हकमा पनि थप ५ दिन सम्मको लागि अत्यावश्यक बाहेक सेवा रोक्ने जनाएको छ ।
स्थानिय क्षेत्रमै कोरोना फैलिने सम्भावना रहेकोतर्फ सचेत हुदै नगर यो निर्णयमा पुगेको जनाइएको छ ।
सेवा अवरुद्द हुँदा पर्न जाने असुविधा प्रति नगरपालिका कार्यालय सम्पूर्ण नगरबासीमा क्षमा माग्दै कोरोना रोकथाम एवं नियन्त्रण कार्यमा सहयोगका लागि सम्पूर्ण नगरवासीमा हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक–पटक हात धुने, अंकमाल नगर्ने, एक अर्कासँग भौतिक दुरी कायम गर्ने, ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदुषण मात्रै रोक्ने हुँदा सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने नजिकको स्वास्थ्य संस्थामा जचाउँन आह्वान गरेको छ ।
बैठकले कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा पर्नसक्ने असर र सोका लागि अख्तियार गर्नुपर्ने रणनीति बारेमा समेत छलफल गरेको छ ।
बैठकले निर्णय कार्यान्वयनमा सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी,व्यापारी,संघ, संस्था, क्लव, टोल सुधार समिति, बैँक, वित्तीय संस्था, सहकारी, ध्यान र योगा केन्द्र, धार्मिक र सांस्कृतिक केन्द्र,पेशाकर्मी, वुद्धिजीवि, समाजसेवी, कृषक एवं पशुपालक लगायत सम्पूर्ण नगरवासीमा धन्यवाद दिँदै अर्को सुचना नभएसम्मका लागि यसअघिका सम्पूर्ण निर्णयलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्न आह्वान गरेको छ ।