नमोबुद्ध संवाददाता,
धुलिखेल– जनप्रतिनिधि भएकोले अरु दिन त व्यस्त हुनेनै भयो,जब जन्मदिन पर्छ त्यो दिन झनै व्यस्त देखिनुहुन्छ काभ्रेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) मोक्तान तामाङ । लाखौं फजुल खर्च हुनेगरी भोजभतेरका चाँजोपाँजोमा हैन बरु विहानै कि अनाथालय,आश्रम कि विद्यार्थीहरुमाझ पुग्ने हतारो हुन्छ उहाँलाई ।
जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये यस गाउँपालिकाका अध्यक्ष तामाङले हरेक वर्ष आफ्ना जन्मदिनलाई पनि समाजिक सेवाभावले केहि न केहि कार्यमा समर्पित गर्दै आउनुभएको छ ।
यो पटक तामाङले जन्म दिनको अवसर पारी ५ लाखको कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । बुधबार ४७ औं वषन्त टेकेका अध्यक्ष तामाङले गम्भिर प्रकृतिका दीर्घ रोगको उपचारमा संकट पर्ने नागरिकहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आफ्नै बाबु आमाको नामबाट ५ लाखको कोष घोषणा गर्नु भएको हो ।
बुबा देवि सिं लामा किड्नी खरावीले वितेको र श्रीमती ठुलीमाया पनि छातिको क्यान्सर रोगी रहेको स्मरण गर्दै अध्यक्ष तामाङले यस्ता विरामीहरुले भोग्नु परेको समस्यालाई नजिकबाट नियालेकोले यो पटकको जन्मदिनमा उपचार कोषको परिकल्पना आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष तामाङका अनुसार यस कोषबाट यस्ता गम्भीर प्रकारका रोगसँग जुधिरहेका दीर्घरोगीहरुले सहयोग पाउनेछन् ।