रक्तकाली मन्दिरको गजुर स्थापनार्थ २३ हजार प्रदान

नमोबुद्ध संवाददाता,

भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बुधबार गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीका लागि आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउनुभएको छ । आफ्नो जन्मदिनको अबसरमा उहाँले १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । जसमध्ये उहाँले यसअघि नमोबुद्ध १० की १० बर्षीया सविना लामाका लागि यो बर्ष लाग्ने पढाई खर्चवापतको ७ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

तिमल्सिनाले लामाको सबै तहको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको थियो । यसैगरी नमोबुद्ध ४ मा रहेको जनक माविबाट अघिल्लो बर्षको एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका नमोबुद्ध २ का दिपेश गौतम र नमोबुद्ध ४ का शिवराज चिमौरियालाई यस बर्षको शैक्षिक खर्चवापतको ६५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । गौतम र चिमौरिया हाल कक्षा ११ मा अध्ययनरत छन् । दुबैजनालाई अघिल्लो बर्षको जन्मदिनको अवसरमा पनि नगर प्रमुख तिमल्सिनाले एक बर्षको शैक्षिक शुल्कवापतको ६५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

यस्तै वडा नंवर १० का सुशील गौतमलाई शैक्षिक शुल्कवापतको ३० हजार रुपैयाँ बुधबार नै प्रदान गरिएको छ । शैक्षिक खर्चवापत नै गौतमलाई यसअघि नगरप्रमुख तिमल्सिनाले ३५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उक्त रकम जनक माविमार्फत बुझाउने व्यवस्था गरिएको छ । आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो ।

नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधावापतको रकमलाई सामाजिक क्षेत्रमा खर्च गर्नुभएका नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा नमोबुद्ध नगरपालिका ४ मा रहेको दलित सामूदायिक भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।

यस्तै यसअघि प्रतिवद्धता जनाएअनुसार नमोबुद्ध ५ कानपुरमा जिर्णोद्धार भइरहेको रक्तकाली मन्दिरको गजुर स्थापनाका लागि २३ हजार १ सय ११ रुपैयाँ जन्मदिनकै अवसरमा नगर प्रमुख तिमल्सिनाले प्रदान गर्नुभएको छ ।

नगरप्रमुख तिमल्सिनाले यसअघि कोरोना प्रभावितहरुको सहयोगका लागि नगरपालिको स्थापना गरेको प्रकोप व्यवस्थापन विशेष कोषमा व्यक्तिगततर्फबाट १ लाख ५ हजार ५ सय ५५ र १ महिनाको सेवा सुविधावापतको ३५ हजार सहित १ लाख ४० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको थियो भने नमोबुद्ध नगरपालिका ३ मा रहेको ज्ञान विज्ञान गीता पाठशालाका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

आफ्नो जीवन सामाजिक सेवामा समर्पित गर्नुभएका नगरप्रमुख तिमल्सिनाले आगामी दिनमा पनि सेवाभावले स्थापना गरिएका सामाजिक संघसंस्थाका साथै गरिब, जेहेन्दार र असहाय विद्यार्थीको शैक्षिक क्रियाकलापका लागि सहयोग जारी राख्ने प्रतिवद्धतासमेत जनाउनुभएको नगरका प्रेस सल्लाहकार विनोद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !