नमोबुद्ध संवाददाता,

काठमाडौं-नेपालमा आजको राजनीतिक उपलब्धि सयौं वीर अमर सहिदहरूको देन हो । यहाँ हरेक राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा सयौँ सन्तानहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन् ।

ती अमर सहिदहरूको सूचीमा सयौँ स्रष्टा–सर्जकहरूको नाम अग्रपङ्क्तिमा आउँछ । तिनै अमर स्रष्टा सहिदहरूको सम्मान गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सहिद स्रष्टा परिचय कोश’ तयार पारिरहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागबाट ‘सहिद स्रष्टा परिचय कोश’ तयार पारिँदै गरिएको हो ।

विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ ।

उक्त कोशमा मकैको खेतीका स्रष्टा प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धका सहिद कृष्ण सेन ‘इच्छुक’ लगायतका सहिद स्रष्टाहरूलाई समेटिनेछ ।

कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !