• नमोबुद्ध संवाददाता,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ स्थित बोहोरदोभान ठूलोपर्सेल सडक खण्डको ‘दावापहरा’ मा पहिरो झरी अवरुद्ध भएको बाटो खुलाउने प्रक्रिया सुरु भएको छ । वडाध्यक्ष मान बहादुर श्रेष्ठ लगायतको सहयोग लिई प्राविधिक स्टिमेट गरिसकेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

कोरोना महामारी र बर्षातको समय झन थप प्राकृतिक विपत्तिले तेमालबासीलाई समस्यामा पारेको स्वीकार्दै यसप्रति केहि धैर्य गर्न आग्रह गर्दै उहाँले भन्नुभयो–“प्रक्रिया सुरु भईसक्यो,स्टिमेट लिने काम भइसकेको छ,बजेट व्यवस्थापनको प्रक्रिया भोली पालिकामा पुगेर सकाउँछु,पर्सीदेखी फिल्डमै काम हुन्छ ।”

वडाध्यक्ष श्रेष्ठकको भनाई अनुसार कोरोना महामारी र वर्षातको बेला पालिकामा रहेको १ जनामात्रै प्राविधिकबाट काम लिनुपर्ने स्थिति छ ।

उहाँले भन्नुभयो–“यसअघि त्यो बाटोमा ३ पटक जेसीवी लगाएर सफा गरेका थियौं,यो पटक ठूलो ठूलो ढुंगासहितको  पहिरो रहेकोले हच्चुवा भरमा सानो जेसीवी डोजर लगाउन नमिल्ने देखियो,पालिकामा विपत् व्यवस्थापन कोष रहेकोले पालिका अध्यक्षज्यूसँग सहयोग मागेका हौं ।”

सार्वजनिक गाडी नचलेको यो समय आफ्नै व्यक्तिगत खर्चमा गाडीमा पालिकाका एकमात्र प्राविधिक रामप्रसाद दाहाललाई झिकाई गरिएको प्राविधिकको स्टिमेट अनुसार ४५ मिटर लामो,एकातिर १० मिटर र अर्कोतिर ३ मिटर गहिरो पहिरो पन्छाउनुपर्ने वडाध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

नोवल कोरोना भाइरस(कोभिड–१९) जस्ता विपत्ति र पहिरो ठूलो रहेकोले फेरि बारम्बार समस्या नआउनेगरी काम गर्ने प्रक्रिया चाल्न केहि समय लागेको अध्यक्ष सलाम सिं तामाङले स्पष्ट पार्नुभयो ।

पहिरोले बाटो बन्द गराएको दुईसाता हुन लाग्दापनि स्थानिय सरकारले चासो नदिएको स्थानियको आरोप छ । तेमाल सस्र्यूंखर्कको तल्लो भेग,सरमथली,बोल्दे,ठूलोपर्सेल लगायतका स्थानियले यो बाटो प्रयोग गर्दै आएका छन् ।

बाटो अवरुद्ध हुँदा स्थानिय किसानको कृषि उपज बजारसम्म ल्याउन तथा कोही बिरामी हुदा एम्बुलेन्स सञ्चालनमा समेत समस्या परेको स्थानिय बताउँछन् ।

यसप्रति सामाजिक सञ्जाल लगायतबाट ध्यानाकर्षण गराउँदै स्थानिय व्यवसायी तथा समाजसेवी उज्वल लामा,शंकरमान तामाङ लगायतका युवाहरुले छिटो भन्दा छिटो बाटो सुचारु गर्न स्थानिय सरकारलाई खबरदारी गर्दै आउनुभएको छ ।

तस्विर : फेसबुक

प्रतिक्रिया दिनुहोस !