‘तयारीमा जुट्न निषेधाज्ञा मौका’

काठमाडौं— देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ । निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताए ।

‘निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भन्नुभयो, ‘उपत्यकामा भने निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिनेछ ।’ उहाँका अनुसार निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ ।

उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी (२१६ जना) मा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए । निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेको पनि ।

‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।’

निषेधाज्ञाको अवधिमा संक्रमण नियन्त्रण, रोकथाम र उपचारको आवश्यक तयारी गर्न सुझाव

हाल काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाडले कोरोना संक्रमण विस्तारमा सहयोग पुगेको विज्ञहरू बताउँछन् । उपत्यकामा करिब ४ हजार संक्रमित देखिए पनि वास्तविक संक्रमितको संख्या योभन्दा बढी रहेको डा.पाण्डेको अनुमान छ ।

डा.अधिकारीका अनुसार तीजको समयमा निषेधाज्ञा नभएको भए काठमाडौं कोरोनामय हुने सम्भावना अत्यधिक थियो । ‘कोरोना हटस्पट भएको ठाउँमा निषेधाज्ञा बाध्यता हो, तर यही मात्र समस्याको समाधान होइन,’ उहाँले भन्नुभयो, ‘राजधानीको हकमा भने हाल निषेधाज्ञाले कोरोना फैलिनबाट रोक्यो ।’

निषेधाज्ञाका कारण राजधानीबाहिर भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ । ‘पछिल्ला ५ दिनमा कोभिड पोजिटिभ केसको संख्या धेरै घट्यो । (शनिबार) २ सय १५ शंकास्पद केसको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखियो,’ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जित झाले भन्नुभयो, ‘स्थानविशेषमा गरिने लकडाउन र निषेधाज्ञाको सप्तरी जिल्लामा सकारात्मक प्रभाव परेको छ ।’

उहाँले निषेधाज्ञाले संक्रमणको ‘चेन’ (चक्र) तोड्न सघाएको बताउनुभयो । भदौ १० पछि संक्रमित हुनेको संख्या घटेको देखिए मात्र निषेधाज्ञाले फाइदा गरेको यकिन भन्न सकिने वीरगन्जस्थित नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.नीरज सिंह बताउँनुहुन्छ । ‘अस्पताल कोरोनाका बिरामीले अझै भरिएकै छ । निषेधाज्ञाले धेरै राम्रो भएको अहिल्यै भन्न सकिँदैन । पुरानै केसहरू नै आइरहेको छ,’ उहाँले भन्नुभयो ।

तयारीमा जुट्न निषेधाज्ञा मौका

विज्ञहरूले निषेधाज्ञाको मौकामा संक्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्नसमेत सुझाएका छन् । ‘कर्फ्यु, निषेधाज्ञा, लकडाउनले कोभिड–१९ संक्रमणको अन्त हुनेवाला छैन,’ ईडीसीडीका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी भन्नुहुन्छ, ‘यसका लागि संक्रमितको निर्बाध ओहोरदोहोर रोकिनुपर्छ, संक्रमितको द्रुतगतिमा पहिचान गरी आइसोलेसनमा राखेर उपचार गरेमा मात्र संक्रमण विस्तारमा कमी आउँछ ।’

उहाँले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सबैले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोनासँग जुध्न सहज हुने बताउनुभयो । ‘हामीले हाम्रो असुरक्षित जीवनशैली र काम गर्ने पद्घतिमा परिवर्तन ल्याउनु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सरकार स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कडा रूपमा प्रस्तुत हुनुपर्छ । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनेलाई दण्ड सजाय बढाउनुपर्छ ।’

निषेधाज्ञा संक्रमण विस्तार रोक्ने उपाय मात्र भएको उहाँको भनाइ छ । ‘निषेधाज्ञा खुला हुनासाथ मान्छे कुम जोडेर बस्छन् । एक मिटरको भौतिक दूरी पालना गर्दैनन् । मास्क लगाउनसमेत बिर्सन्छन्,’ उहाँले भन्नुभयो ।

मुलुकको सीमामा प्रवेश गर्ने जोसुकैलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गराउन उहाँले सरकारलाई सुझाव दिनुभयो ।

ekantipur.com

https://ekantipur.com/news/2020/08/23/159814833829833500.html

प्रतिक्रिया दिनुहोस !