• नमोबुद्ध संवाददाता,

सिन्धुली–सुनकोशी गाउँपालिका–३ स्थित महाकाली सेन्ड रिफाईन्ड एण्ड कन्स्ट्रक्सन प्रालिले स्थानिय संघसंस्थाहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

पहिलो चरणमा सबैलाई सुरक्षित हुन आव्हान गर्दै कन्स्ट्रक्सनले हालै गाउँपालिकाको वडा नम्वर ३ भित्रका संघसंस्था र विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस गाउँबस्तिमा प्रवेश गरिसकेको सन्दर्भमा यसलाई रोकथामका लागि खटेका नेपाल रेडक्रस सोसाइटि रातामाटा शाखा,प्रहरीचौकी रातामाटा, प्रगतिशिल मावि बोहोरेटार, माध्यमिक विद्यालय गुठ बजार , जनज्योति प्रावि, वडा नं.३ को वडा कार्यालय र प्रहरी चौकी सित्खालाई सेनिटाईजर, मास्क, ग्लब्स, साबुन, टावेल, जनचेतानामूलक बोर्ड लगायतका सामाग्रीहरु वितरण गरेको कन्स्ट्रक्सनका सञ्चालक उमा कुमारी गिरीले जानकारी दिनुभयो ।

सुनकोशी–३ नं. वडाका अध्यक्ष रामचन्द्र आचार्यले कोरोना भाइरस गाउँ प्रवेश गरेकोतर्फ स्थानिय नागरिकलाई सचेत गराउँदै स्थानियको सुरक्षाको लागि आफु दिनरात खटिरहेको बेला महाकाली सेन्ड रिफाईन्ड एण्ड कन्स्ट्रक्सन प्रालिले सहयोगी हात फैलाएकोमा खुसी व्यक्त गर्नुभयो ।

आफ्नो गाउँपालिकामा हालसम्म २ जना पुरुष कोरोना संक्रमित भएको र १ महिला क्वारेन्टाइनमा रहेको उल्लेख गर्दै वडाध्यक्ष आचार्यले महामारीको भयाभह स्थिति आउन नदिन यस्ता सहयोगको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कोरोना भाइरस रोकथाम जस्ता सामाजिक उत्तरदायित्व वहनमा आफु सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै कन्स्ट्रक्सनका सञ्चालक रणबहादुर तामाङले सम्बन्धित पक्ष अझ थप तयारीमा जुट्नुपर्ने औंल्याउनुभयो ।

यो महामारीको बेला स्वासथ्य सामाग्री राहत पाएको भन्दै स्थानिय,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कन्स्ट्रक्सनप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !