-
नमोबुद्ध संवाददाता,
धुलिखेल–काभ्रेको सदरमुकाममा बाग्मती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
प्रयोगशालाको शनिबार प्रदेश सांसद चन्द्र लामा,लक्ष्मण लम्साल,रत्न ढकाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायत सम्मुख बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।
२४ सै घण्टा सेवा उपलब्ध गराउने गरी सुरु गरिएको यस प्रयोगशालाको सेवाबाट १३ वटै जिल्लावासीले लाभ लिन सक्ने मन्त्री दुलालले बताउनुभयो ।
हालको नोवल कोरोना भाइरस(कोभिड–१९) को स्वाब परिक्षणसँगै अन्य रोगहरुको पहिचान गर्न यो प्रयोगशाला निकै उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै अन्य सामान्य ल्याबहरुबाट परीक्षण र पहिचान गर्न नसकेका जटिल रोगहरु समेत यो प्रयोगशालामा परीक्षण हुन सक्ने उहाँको दावी छ ।
प्रदेश सासंद चन्द्र लामाले यो प्रयोगशालाको सेवाबाट जनताले अधिक लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । समृद्धिको महत्वपूर्ण पाटो जनस्वास्थ रहेकोले प्रदेश जनप्रतिनिधि र सरकारको यसतर्फ ध्यान गएको उहाँको भनाई छ ।
प्रदेशका मन्त्रालयपछिको मुख्य सेवा कार्यालयहरु स्थापनाको लागि काभ्रेबाट निर्वाचित प्रदेश सांसदहरुले निरन्तर रुपमा प्रदेश सरकारसँग आवाज उठाउने क्रममा यो सफलता मिलेको प्रदेश सांसद रत्न ढकालले बताउनुभयो ।
त्यस्तै प्रदेश सांसद लक्ष्मण लम्सालले बाग्मती सरकारले धुलिखेलमा प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालय(प्रयोगशाला) स्थापना गर्न गरिएको निर्णयले आज साकार रुप पाएकोमा आम नागरिकहरुलाई बधाई व्यक्त गर्नुभयो ।
यो प्रयोगशालामा हालका लागि दैनिक एक हजार स्वाब परीक्षण गर्ने क्षमतासहित आधा दर्जन बढी कर्मचारी खटिएको प्रयोगशालाका समुन्द्र अधिकारीले जानकारी दिनुभयो ।
यो प्रयोगशाला सञ्चालनका लागि चार वर्षका लागि धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडीको भवन उपलब्ध गराएको छ । चार वर्षपछि नगरपालिकाले व्यवस्थापन गर्ने जग्गामा प्रयोगशालाको नयाँ भवन निर्माण हुनेछ ।