-
नमोबुद्ध संवाददाता,
तेमाल–काभ्रेका स्थानीय तहस्तरसम्म नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिन थालेपछि तेमाल गाउँकार्यपालिकाको कार्यालयले यसतर्फ सतर्कता अपनाउन थालेको छ । छिमेकी स्थानीय तहहरुमा दिनहुँजसो कोरोना संक्रमणका विरामी देखिन थालेपछि तेमाल सरकारले यसप्रति सावधानी अपनाउन थालेको हो ।
बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबारदेखी लागु हुनेगरी पालिका क्षेत्रभित्र कुनैपनि खालको भिडभाड हुने प्रकृतिका भेला,सभा सम्मेलन,भोज जस्ता कार्य नगर्न अनुरोध गर्दै पालिकाबाट हुने अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको अध्यक्ष सलामा सिं तामाङले जानकारी दिनुभयो । नमोबुद्ध खबरसँग उहाँले भन्नुभयो–“बेलैमा आवश्यक सावधानी अपनाउने र अपनाउन अनुरोध,साथसहयोग गर्ने निर्णयमा पालिका पुगेको हो ।”
उहाँले अतिआवश्यक काम बाहेकमा बाहिर ननिस्कन र यदि निस्कनुपर्ने काम परेमा माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न एवं भौतिक दुरी कायम गर्न आफ्ना नागरिकलाई अनुरोध गर्नुभयो ।
स्वास्थ शाखाका प्रमुख शिवहरि पाठकका अनुसार कोही कसैलाई कोरोना लक्षण देखिएमा तत्काल परीक्षणको व्यवस्था गरी उपचार गर्ने तयारीका साथै क्वारेन्टाईनहरुलाई थप व्यवस्थीत बनाउने काम भइरहेको छ ।
उहाँले भन्नुभयो–“विदेशबाट फर्किने क्रम रोकिएको छैन,आउजाउ भइरहेपछि क्वारेन्टाईलाई थप व्यवस्थीत गर्ने काम भइरहेको छ,अलिहेसम्म पिसिआर पोजेटिभ कसैको भेटिएको छैन यद्यपी स्वास्थ्य संस्थामा पुगेकालाई समेत आवश्यक माक्स र सेनिटाइजर दिने काम भईरहेको छ ।”
अध्यक्ष तामाङले भन्नुभयो–“बेलैमा आवश्यक सावधानी अपनाउने र अपनाउन अनुरोध,साथसहयोग गर्ने निर्णयमा पालिका पुगेको हो ।”
स्थानिय क्वारेन्टाइनमा बसेका ६४ मध्ये ५१ जना डिस्र्चाजपछि घर फर्किएका र १३ जना क्वारेन्टाईनमै रहेको स्वास्थ शाखा प्रमुख पाठकले जानकारी दिनुभयो ।
आफ्ना नागरिकको सुरक्षाका सवालमा पालिकाले बिहिबार बेलुका सूचना नै जारी गरेको छ । सूचनामा पालिकाभित्रका पसल व्यवसाय विहान ६–९ र वेलुका ४–६ बजेसम्म मात्रै खुल्ला गर्न,माक्सको अनिवार्य प्रयोग गर्न भनिएको छ । साथै स्थानिय स्तरका उद्योग व्यवसाय तथा निर्माणसम्बन्धी काममा संलग्न कर्मचारीको खाना र बासको सुरक्षित व्यवस्थाको प्रवन्ध सम्बन्धित व्यवासयीले मिलाउन र त्यसमा बाहिरी कर्मचारी नल्याउन पनि भनिएको छ ।
आवत जावत गर्दा नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सम्बन्धीका सम्पूर्ण मापदण्ड अपनाउन आह्वान गरिएको छ ।
पालिका प्रवक्ता ज्ञानबहादुर मोक्तानका अनुसार बिहीबारको बैठकले पुषभित्र योजना सम्झौताका काम सकाउने र जेठ मषान्तभित्र योजना सम्पन्न गराउने समयसिमा निर्धारणको निर्णय समेत गरेको छ तर यत्तिबेला जनप्रतिनिधिको बढि चासोको तेमालका जनताको स्वास्थ्य सुरक्षामा केन्द्रित भएको हो ।