
-
नमोबुद्ध संवाददाता,
धुलिखेल–साउदी अरबमा दुर्घटनामा परी निधन भएका काभ्रेको खानीखोला १ धार्नीका प्रयास थिङको परिवारले बिहीबार बिमा रकम पाएका छन् ।
नेकपा युवा नेता दैबलाल घिसिङको सहजीकरणमा नेसनल लाइफ इन्सुरेन्स कम्पनी बनेपा शाखाका प्रमुख सुर्य सापकोटाले मृतकका बुबा टंक बहादुर थिङ र आमा फुलमायाँ थिङलाई १४ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नुभएको हो ।
विदेश जानुअघि प्रयासले नेपालमा ४ हजार तिरेर जीवन बिमा गर्नुभएकोले विमा रकम परिवारले पाएका हुन् ।
उहाँको परिवारले नेपाल सरकार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पनि ७ लाख रुपैयाँ पाउँनेछन् । उक्त रकम भने आउँन बाँकी रहेको नेकपाका युवा नेता घिसिङले बताउनुभयो ।
घिसिङले भन्नुभयो –“नेपाल सरकार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचवालय शाखा अधिकृत गोविन्द आचार्यसँग कुराकानी भईसकेको छ,नेपाल सरकारबाट सचिवालय हुदै मृतकलाई दिने उक्त रकम पाउन लकडाउन सहज हुनुपर्ने जानकारी आयो,लकडाउनको कारण कागजपत्रहरु पेश गर्न पनि कठिनाइ छ,परिस्थिति अलि सहज हुनासाथ उक्त राहत प्रयासको परिवारले प्राप्त गर्नेछ ।”
वैदेशिक रोजगारको क्रममा विदेश भएको आठ महिना नपुग्दै प्रयासको गत बैशाख ३० गते साउदीको जेडा जुलुममा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
कोरोना माहामरीको कारण मृतक थिङको शब ल्याउन केही ढिलाई भएको थियो । मृतक थिङको शब ल्याउन नेकपाका नेता दैवलाल घिसिङ लगायतले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड मार्फत पहल गर्नुभएको थियो ।