• नमोबुद्ध संवाददाता

काठमाडौं–पेशागत रुपमा गीत,संगीत र अभिनय लगायतका कलाकर्म त नियमित छँदैछ,यसबाहेक जतिबेला आफ्ना समुदायमाथि केहि विपत्ति आईलाग्छ त्यतिबेल बढि दुख्छ तामाङ कलाकार संघलाई । कहिले गीत गाउँदै कसैको जीवनरक्षामा उभिन्छ त कहिले तामाङ सांस्कृतिक जागरणमको पथमा ।

यिनै बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ लिदीस्थित तामाङ बस्तीमा पहिरो खस्दा तामाङ संस्थाहरुमध्येमा सबैभन्दा पहिले तामाङ कलाकार संघले नै राहतस्वरुप नगद सहयोग गर्यो । र उसले अरुलाई पनि उद्धार र सहयोगको आह्वान गर्यो । यो कुनै सस्तो लोकप्रियता र स्वार्थप्रेरित कार्य पटक्कै थिएन,थियो त समुदायप्रतिको उत्तरदायित्वपूर्ण प्रेम । जसले कैयौँ सम्बन्धित निकायहरुलाई उद्धार र सहयोगको लागि उत्प्रेरणा र दबाब एकैचोटी दिएको छ ।

पहिरो पीडितहरुका लागि संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङमार्फत सहयोग हस्तान्तरण गरेको हो । संघको तर्फबाट रु १ लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार गरी एकमुष्टमा १ लाख २५ हजार सहयोग गरेको अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिनुभयो ।

यसबारे संघले प्रेस विज्ञप्तिका साथै संघका अध्यक्ष वाइबाले समाजिक सञ्जालबाट स्पष्ट पार्नुभएको छ । संघका बरिष्ठ उपाध्यक्ष विश्व दोङले यस दुखको घडीमा सहयोगको निकै महत्व रहने बताउनुभयो । उहाँले भन्नुभयो–“यस्तो बेला अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?”

शुक्रबार विहान खसेको पहिरोमा परी घाइते भएकाहरूको उद्धारका साथै अति आवश्यक राहत लिएर घटनास्थलमै पुग्नेगरी आपतकालिन बैठकमा छलफल भएपनि भौगोलिक बस्तुस्थिती र मौसमले गर्दा सम्भव नभएको अध्यक्ष वाइबाको भनाई छ ।

संघले आवश्यक थप सहयोगको सहजिकरणका लागि संघ तयार रहेको पनि जनाएको छ । यस घडीमा सहयोगी मनका धनीहरु,संघसंस्थाहरुमा मानविय सहयोगको आह्वान गर्दै संघले आफूहरु समन्वयात्मक भुमिका खेल्न सदैव तयार रहेको स्पष्ट पारेको हो ।

उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ भने दर्जनौं मानिसहरु हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !