-
नमोबुद्ध संवाददाता,
काभ्रेपलाञ्चोक–पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री,काभ्रे क्षेत्र नं. २ का संघिय सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा बुधबार बनेपामा पुण्यमाता करिडोर निर्माणको शिलान्यासपछि औपचारीक समारोह आयोजना भयो ।
धुलिखेल र पनौतीबासी समेत लाभान्वित हुने गरी ६ करोड २७ लाखमा बन्ने करिडोर शिलान्यासपछिको समारोहमा लस्करै अर्का संघिय सांसद गंगाबहादुर दोङ,बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाईं,धुलिखेल नगरपालिकाका प्रमुख(मेयर) अशोक व्यञ्जु,पनौती नगरपालिकाका मेयर भिम न्यौपाने लगायतका जनप्रतिनिधिहरु हुनुहन्थ्यो । प्रमुख अतिथिदेखि अन्य सबै अतिथिहरुले समृद्ध बनेपा,पनौती र धुलिखेल निर्माणको परिकल्पनामा छोटो समयमै हाँसील गरेका प्रगतिको चर्चा परिचर्चा गर्नुभयो ।
करोडौं बजेटको यो योजनाको सुरुवाती घडी भएकोले समारोहको माहोल खुसीप्रदनै थियो । अध्यक्षता ग्रहण गरिरहनुभएका बनेपाका मेयर लक्ष्मीनरसिं बादेले बनेपाको विकासमा साथ दिने सबैप्रति आभार प्रकट गरेलगत्तै अब कार्यक्रम समापन भयो भन्ने लागेर सहभागिहरु हलबाट बाहिर निस्कन थाले । त्यहि बखत मेयर बादेको गला अवरुद्ध भयो,हलबाट निस्कन लागेकाहरु एक्कसी रोकिए । तिनैबेला मेयर बादेले आंसु झार्दै भन्नुभयो–“आज म सम्मानिय प्रधानमन्त्री ज्युलाई स–धन्यबाद सम्झीन चाहन्छु,कोही माइकलाल थिएन,नेपाल आमाको छाती चिरेर टुक्रा टुक्रा पार्दाखेरी देख दुख्न थाल्यो यसको ज्वलन्त उहाहरण म छु ,आज देश र जनताको लागि मर्न तयार हुने ओलीमाथि किन प्रहार भइरहेको छ ? कालापानी,लिपुलेक र लिम्पियाधुराको पिडा सिंगो मुलुकको दुःखाई हैन र ? त्यहाँको पिडा मैले पनि अनुभति गरेको छु ।”
नेपाल प्रहरीबाट अवकाशपछि राजनीतिमा आउनुभएका मेयर बादेले प्रहरी अधिकृत हुँदा ४०–५० को दशकताका दार्चुलाको सिमाना निरीक्षणका क्रममा कालापानी,लिपुलेक हुदै मानसरोबरसम्म पुग्दा भारतिय प्रशासनबाट नेपालीले खेपेको हेपाई नजिकबाट नियालेको स्मरण गराउँदै उहाँले यो कुरा बताउनुभएको हो ।
“हाम्रा आमाको मासु चिथोरेर खान पल्केकाहरु,हामी कत्ति थिचोमिचोमा बाँच्दै आएका छौं भन्ने कुरा राम्रोसँग थाहा छ, आज राष्ट्रियता,स्वाभिमान बचाउन लागेका सम्माननिय प्रधानमन्त्री केपि ओलीमाथि किन प्रहार भईरहेको छ ? हामी एक ठाउँमा उभिन जरुरी छ ।” अन्त्यमा उहाँले भन्नुभयो–“हाम्रा प्रधानमन्त्री महान हुनुहुन्छ,त्यस्ता सपुतको हामीले कदर गर्नुपर्छ,प्रधानमन्त्रीको देश निर्माणको यात्रामा हामी छौं,तपाईं निर्धक्क अगाडि बढ्नुहोस् ।”
यिनै विषयले निकै भावुक देखिएका मेयर बादेले राष्ट्रियता,राष्ट्रिय अखण्डताको पक्षमा कसैको फरक मत हुन नहुनेमा जोड दिनुभयो । बारम्बार गला अवरुद्ध देखिएका मेयर बादेले यि कुरा भनिरहँदा सहभागि सबै गम्भीर देखिए,हलमा केहिबेर सन्नाटा छाएको थियो ।