• नमोबुद्ध संवाददाता,

सिन्धुपाल्चोक–फूलमान तामाङ मोक्तानको पहिलो कृति “मिनज्याङ (तामाङ समुदायमा नाम जलाउने प्रथा) पुस्तक आइतबार सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय जनजाती दिवस को अवसर पारेर इन्द्रावती गाउँपालिका वडा ४ नवलपूरमा आयोजित औपचारीक समारोहकाबिच यो कृति प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ,गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामा,नेपाली कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङ लगायतले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

विमोचन समारोहमा गाउँपालिका राष्ट्रिय महासङघका महासचिव समेत रहनुभएका पालिका अध्यक्ष तामाङले महत्वपूर्ण दिनमा पुस्तक लोकार्पण भएको बताउनुभयो । “अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा तामाङ समुदायको संस्कृतिबारेको कृति बजारमा आएको छ” उहाँले भन्नुभयो, “तामाङहरुको मौखिक इतिहास मात्र छ ।

बोम्बोको सेराप, ताम्बाको काइतेनमा मात्र सीमित छ । लोप र संकटको अवस्थामा पुगेको विषयलाई लिखित रुपमा ल्याउने साहस गर्नु धेरै राम्रो हो ।” उहाँले तामाङ समुदाय बोन समुदायमा पर्ने र यस समुदायमा अध्ययनका अनेक विषय अझै भर्जिन रहेको तर्क गर्दै अध्यक्ष तामाङले भन्नुभयो– “तामाङ समुदाय बोन समुदायमा पर्छ । उनीहरुलाई बोम्पो लामाले नामाकरण गरिन्छ । प्रकृतिसँग नजिक रहेको यो बोन सम्प्रादयमा अध्ययनका अनेक विषय छन् । अरुले पनि अध्ययन गर्न सक्छन् । यस्ता विषयमा अध्ययन गर्नेलाई गाउँपालिकाको साथ र सहयोग रहन्छ ।”

कार्यक्रममा विशेष अतिथि सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङले तामाङ जातिको यस्तो विषयमा पहिलो प्रयास भएको दावी गर्नुभयो । “भोलिको दिनमा अर्को पुस्तक निस्कन सक्छ । हामीसँग धेरै विषय छन् । लेखन कार्य सजिलो छैन । धेरै खट्नुपर्छ । यो पुस्तकमा सरसर्ती पढ्दा चोहो, बोम्बो, लामादेखि विज्ञको भावना राखेको देखिन्छ,”-उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाले आफू पहिलो पल्ट तामाङ जातिको विषयमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन पाएको उल्लेख गर्दै भन्नुभयो–“हरेक जातिको आफ्नै सस्कृंति परम्परा संस्कार हुन्छ । मेरो जन्म ब्रह्माण जातमा भयो र मृत्यु भने तामाङ संस्कारमा हुने भयो,मृत्यु संस्कार गर्नेबारे थाहा नभएकोले यो मिनज्याङ किताबले यस विषयमा छर्लङ्ग पार्नेमा म विश्वस्त छु ।”

लेखक फूलमान तामाङ मोक्तानले संसारका मानिस आफ्नो नाम जुनीजुनीसम्म राख्न मरिमेट्दा तामाङ समुदायमा भने मृत्युपछि नामै जलाउने चलन रहेको विषयले आफुमा प्रश्न उब्जेको र सोही प्रश्नको उत्तर खोज्ने क्रममा पुस्तक तयार भएको बताउनुभयो ।

लेखक मोक्तान पछिल्लो समय सञ्चार कर्मका साथै नाट्य अभिनय क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !